कर्णाली । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी दोस्रो दिन पनि जारी रहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर शुक्रबार बिहान ८ बजेदेखि पुनः खोजी कार्यमा परिचालन भएका छन् ।
बिहीबार बिहान ८ बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ११ः३० बजे दुर्घटनाग्रस्त भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।
घटनापछि बिहीबार करिब पाँच घण्टासम्म गोताखोरसहित सुरक्षा निकायले खोजी गरे पनि गाडी र यात्रु फेला पार्न नसकेपछि शुक्रबार बिहानदेखि पुनः खोजी सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार नदीको जलसतह बढ्नुका साथै बहाव अत्यन्त तीव्र रहेकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ । पानी धमिलो भएकाले दृश्यता न्यून रहेको र घटनास्थलमा सिधै पुग्ने बाटो नभएकाले अछामतर्फबाट खोजी गर्नुपरेको उनले बताए ।
दुर्घटनापछि भिरमा अचेत अवस्थामा अड्किएका एक जना पुरुषको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।
खोजी तथा उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन भएका छन् ।
प्रहरीका अनुसार गाडी सुर्खेत बसपार्कबाट छुट्दा तीन जना यात्रु थिए भने दैलेखको डुङ्गेश्वरबाट थप दुई जना चढेका थिए । चालक र सहचालकसहित हालसम्म सात जना गाडीमा सवार रहेको आधिकारिक विवरण प्राप्त भएको छ ।
दुर्घटनास्थल प्रहरीचौकी दैलेखबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया