सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा बिहीबार बिहान दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म फेला परेको छैन ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट परिचालित ६ सदस्यीय गोताखोर टोलीले बिहीबार दिनभर खोज तथा उद्धार कार्य सञ्चालन गरे पनि गाडी भेट्टाउन सफल हुन सकेन ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार वर्षापछि नदीमा आएको बाढी, बढेको पानीको सतह र धमिलो पानीका कारण खोजी कार्यमा कठिनाइ भएको हो । उनी करिब ५० जना सुरक्षाकर्मीसहित घटनास्थलमा पुगेका थिए ।
उनले रातिको समयमा खोज तथा उद्धार कार्य सम्भव नभएकाले शुक्रबार बिहानदेखि पुनः खोजी अभियान सञ्चालन गरिने जानकारी दिए ।
बिहीबार बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षा बेसका सुरक्षाकर्मी उद्धार सामग्रीसहित संयुक्त रूपमा परिचालन भएका छन् ।
प्रहरीका अनुसार गाडी सुर्खेत बसपार्कबाट छुट्दा पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि यात्रुको यकिन संख्या अझै खुल्न बाँकी छ ।
दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया