कपडाभित्र लुकाएर अमेरिका पठाउन खोजियो सुनका गरगहना, दुई जना पक्राउ

एक्स–रे परीक्षणले खोल्यो रहस्य

लोकपथ
399
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको ठूलो परिमाणको सुन-चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षी य यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् ।

प्रहरीका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे कार्गो कम्प्लेक्सबाट अमेरिका पठाउन तयारी अवस्थामा रहेको एउटा बाक्सामा जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा रहेको घोषणा गरिएको थियो । तर एक्स–रे परीक्षणका क्रममा शंका लागेपछि थप जाँच गर्दा कपडाभित्र लुकाइएका सुन तथा चाँदीका विभिन्न गरगहना फेला परेका हुन् ।

बरामद गरिएका गरगहनामा नौगेडी, चन्द्रमा, जन्तर, ब्रोच, शिरफूल, मंगलसूत्र, मोतिमाला, रानीहार, त्रिशूल, विभिन्न प्रकारका नेक्लेस, चुरा, शिरबन्दी, झुम्का, तिलहरी र सिक्री लगायतका सामग्री रहेका छन् ।

प्रहरीका अनुसार उक्त कार्गो युनिक कार्गो झापा र एपेक्स लजिस्टिक, बौद्धमार्फत अमेरिका पठाउन लागिएको थियो । सामान जसको नाममा पठाइएको थियो, ती व्यक्ति भने हाल अमेरिका पुगिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?