काठमाडौं । नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केही सञ्चारमाध्यममा आएका दाबीहरू तथ्यहीन रहेको स्पष्ट पारेको छ ।
दूतावासले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन सङ्घीय विदेश मन्त्रालयमा भएको बैठकमा निमन्त्रणा गरिएको मात्र हो, बोलावट (समन) नगरिएको स्पष्ट गरेको छ ।
दूतावासका अनुसार उक्त भेटका क्रममा कुनै पनि प्रकारको विरोधपत्र (प्रोटेस्ट नोट) वा अन्य आधिकारिक दस्तावेज हस्तान्तरण गरिएको थिएन । साथै, राहदानी खरिदसम्बन्धी मुद्दाको प्रक्रियाको नतिजाका आधारमा हुनसक्ने सम्भावित परिणामबारे नेपाल पक्षलाई कुनै चेतावनीसमेत नदिइएको जनाएको छ ।
दूतावासले जर्मनीले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण सम्मान गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै अदालतमा विचाराधीन मुद्दामाथि टिप्पणी नगर्ने आफ्नो दीर्घकालीन अभ्यास रहेको जनाएको छ ।
‘न्यायपालिकाको स्वतन्त्रतालाई जर्मनीले पूर्ण सम्मान गर्दछ। यो सिद्धान्त हाम्रो संविधानमै सुनिश्चित गरिएको छ । सिद्धान्ततः दूतावासले अदालतमा विचाराधीन मुद्दाका बारेमा टिप्पणी गर्दैन र यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी गरेको छैन,’ विज्ञप्तिमा उल्लेख छ ।
यसअघि राहदानी खरिद प्रकरणसँग जोडेर जर्मनी सरकारको धारणा र कूटनीतिक गतिविधिबारे विभिन्न समाचार सार्वजनिक भएपछि दूतावासले त्यसबारे आधिकारिक स्पष्टिकरण दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया