मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा

लोकपथ
21
Shares

काठमाडौं । देशभर मनसुनी गतिविधि तीव्र बन्दै जाँदा सम्भावित बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम न्यूनीकरण तथा तत्काल उद्धारका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा रहेका छन् ।

मौसमविद्हरूले बुधबार र बिहीबार देशभर भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएसँगै सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सरकारी निकायले पूर्वतयारीलाई तीव्र बनाएका हुन् ।

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले मनसुनजन्य विपद्का बेला उद्धारमा ढिलाइ हुन सक्ने अति संवेदनशील क्षेत्रलाई लक्षित गर्दै देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको जनाएको छ ।

साथै, १६ वटा उच्च जोखिमयुक्त स्थानमा स्थायी विपद् व्यवस्थापन बेस, गोताखोरसहितका उद्धार टोली, आवश्यक उपकरण तथा २४सै घण्टा परिचालन हुने जनशक्ति तयारी अवस्थामा राखिएको एपीएफका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।

एपीएफले विपद्सम्बन्धी सूचना तत्काल प्राप्त गर्न ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यस प्रणालीमार्फत नागरिकले लोकेसनसहित सूचना पठाउनासाथ नजिकको एपीएफ युनिटमा जानकारी पुग्ने र उद्धार टोली तत्काल परिचालन हुने व्यवस्था गरिएको छ । जोखिममा परेका नागरिकका लागि केन्द्र तथा प्रत्येक बाहिनीमा १११४ हटलाइन सेवा पनि सञ्चालनमा ल्याइएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनका लागि राज्यका संयन्त्र विगतको तुलनामा थप व्यवस्थित भए पनि नेपालको छरिएको बस्ती संरचना, सीमित स्रोतसाधन र जनशक्तिका कारण चुनौती कायमै रहेको बताए । उनले स्थानीय तहलाई पर्याप्त स्रोतसाधनसहित सक्षम बनाउन तथा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए । साथै जोखिमयुक्त बस्ती अस्थायी रूपमा स्थानान्तरण गर्ने, सुरक्षित आश्रयस्थलको व्यवस्था गर्ने र सडकका ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधार गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाली सेनाले पनि मनसुनजन्य विपद् व्यवस्थापनका लागि तीन चरणको विशेष तयारी योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा योजना अद्यावधिक र संयुक्त अभ्यास सम्पन्न गरिएको, दोस्रो चरणमा जनशक्ति, राहत सामग्री, हेलिकप्टर, बेली ब्रिज, फिल्ड अस्पताल तथा खोज–उद्धार टोली पूर्वतैनाथ गरिएको र तेस्रो चरणमा सामुदायिक स्वयंसेवक परिचालन तथा सम्बन्धित निकायसँग समन्वयलाई प्राथमिकता दिइएको छ ।

नेपाली सेनाले सर्वसाधारणलाई सरकारद्वारा जारी हुने मौसम पूर्वानुमानलाई नियमित रूपमा पालना गर्न तथा विपद्का घटना भए तत्काल स्थानीय विपद् व्यवस्थापन समिति, प्रहरी वा नेपाली सेनालाई जानकारी गराउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?