काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वबीच सन्तुलन कायम गरिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको बजेट (वित्त नीति) सँग तादम्यता मिल्ने गरी मौद्रिक नीति तयार भइरहेको जानकारी दिए ।
उनले उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुर्याउँदै मुद्रास्फीति, वित्तीय स्थायित्वलगायतका प्रमुख आर्थिक सूचकहरूलाई वाञ्छित सीमाभित्र राख्नु राष्ट्र बैंकको प्राथमिकता रहेको स्पष्ट पारे । बजारमा मौद्रिक नीतिप्रति ठूलो अपेक्षा रहेको स्वीकार गर्दै उनले ती अपेक्षालाई सही दिशामा व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको बताए ।
डेपुटी गभर्नर पण्डितले मौद्रिक नीतिका सीमा तथा नियामक निकायले गर्ने नियमित सुधारका कार्यलाई स्पष्ट रूपमा बुझ्न आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार प्रुडेन्सियल तथा रेगुलेटरी सुधार वर्षभरि नै निरन्तर चल्ने प्रक्रिया भएकाले नीतिगत बहस बजेट र मौद्रिक नीति सार्वजनिक हुने समयमै सीमित नभई वर्षभरि विषयगत रूपमा हुनुपर्छ ।
उनले क्रेडिट रेटिङ, कर्जा पुनर्संरचना, पुनरतालिकीकरण तथा निर्देशित क्षेत्रमा प्रवाह हुने कर्जाले पुँजी निर्माण र वित्तीय समावेशीकरणमा पारेको प्रभावबारे गहन समीक्षा आवश्यक रहेको बताए ।
‘हामी अहिले मौद्रिक नीति तर्जुमा गर्ने क्रममा छौं। राष्ट्र बैंकले आफ्ना लक्ष्य, एंकर र ट्रान्समिसन मेकानिजमलाई ध्यानमा राखेर नीति तय गर्नेछ। कतिपय अवस्थामा गैर-मौद्रिक (क्वासी फिस्कल) कार्यक्रमप्रतिको अपेक्षाले नीतिगत स्पष्टतामा अन्योल सिर्जना गर्न सक्छ, त्यसप्रति हामी सचेत छौँ,’ उनले भने ।
उनले डिजिटल प्लेटफर्म, बैंक तथा फिनटेकबीचको साझेदारी, ओपन बैंकिङ र बढ्दो डिजिटल ठगीजस्ता विषयमा विज्ञहरूको राय तथा प्रतिवादसहित गहन छलफल आवश्यक रहेको उल्लेख गर्दै यसले नियामकलाई समयमै प्रभावकारी निर्णय लिन सहयोग पुग्ने बताए ।
डेपुटी गभर्नर पण्डितले नीति निर्माता र भुइँतहका नागरिक विशेषगरी युवा, कृषक तथा आम सर्वसाधारणबीच सूचना र आवश्यकताको दूरी रहेको उल्लेख गर्दै नीतिगत निर्णयमा तल्लो तहका वास्तविक समस्या केन्द्रसम्म पुग्नुपर्नेमा जोड दिए । यस्ता अन्तरक्रिया र सञ्चारमाध्यमले नीति निर्माता र नागरिकबीचको खाडल पुर्ने प्रभावकारी सेतुको भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया