लमजुङ । मनसुनजन्य विपद् तथा सम्भावित पहिरो र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै लमजुङ जिल्लामा रातको समयमा प्रमुख सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले बेँसीसहर–चामे सडकखण्ड र पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत केही क्षेत्रमा असार मसान्तसम्मका लागि रातिको सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार बेँसीसहरदेखि मनाङ जिल्ला सीमासम्मको बेँसीसहर–चामे सडकखण्डमा हरेक दिन साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै, सुन्दरबजार–भोर्लेटार सडकखण्डअन्तर्गत बिमिरे भञ्ज्याङ क्षेत्रमा साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
प्रशासनका अनुसार अत्यावश्यक सेवा तथा आपतकालीन सवारीसाधन भने उक्त समयमा सञ्चालन गर्न सकिनेछ ।
जिल्ला प्रशासन कार्यालयले निर्णय सार्वजनिक गर्दै वर्षाका कारण पहिरो र सडक अवरुद्ध हुने जोखिम उच्च भएकाले जनधनको क्षति न्यूनीकरण गर्न यो निर्णय गरिएको जनाएको छ ।
बेँसीसहर–चामे सडक लमजुङ र मनाङ जोड्ने एक मात्र मुख्य सडक हो । बर्खायाममा यस सडकखण्डमा बारम्बार पहिरो जाने र सडक अवरुद्ध हुने भएकाले मनाङका स्थानीयवासीहरू प्रभावित हुँदै आएका छन् । कतिपय अवस्थामा यातायात अवरुद्ध हुँदा हेलिकप्टरमार्फत आवतजावत गर्नुपर्ने अवस्था समेत सिर्जना हुने गरेको छ ।
त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बिमिरे भञ्ज्याङ क्षेत्रमा पनि हरेक वर्ष पहिरो जाने समस्या दोहोरिँदै आएको छ, जसले गर्दा पोखरा तथा आसपासका क्षेत्रतर्फ यात्रा गर्ने यात्रुहरूलाई असुविधा हुने गरेको छ ।
प्रशासनले यस निर्णयबाट हुने असुविधाप्रति क्षमासमेत मागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया