‘होल्डिङ सेन्टर’का सुकुमबासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले सुकुमबासी, कृषि, बालअधिकार, शिक्षा, खानेपानी, सीमा नाका र किसानका समस्या लगायतका समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमबासीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

सांसद जगत तिमिल्सिनाले नेपालको संविधान र बालबालिकासम्बन्धी ऐनअनुसार १८ वर्षमुनिका व्यक्तिलाई राजनीतिक दलको सदस्य बनाउन नपाइने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।

राष्ट्रिय धान दिवसको सन्दर्भ उल्लेख गर्दै सांसद मीना सिंह रखालले किसानले सिँचाइ, मल र गुणस्तरीय बीउको अभाव भोग्न नपर्ने वातावरण बनाउन सरकारलाई सचेत रहन आग्रह गरिन् ।

सांसद रञ्जित कर्णले सप्तरीको राजविराजमा लालपुर्जा वितरणको माग गर्दै आन्दोलनरत किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालित सेतो नम्बर प्लेटको सवारीमा रातो नम्बर प्लेट प्रयोग गरी राज्य स्रोतको दुरुपयोग गरिएको भन्दै छानबिन र आवश्यक कारबाहीको माग गरिन् ।

सांसद रोशनी मेचेले पनि दलको सदस्य बन्न १८ वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा पालना गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद वासुदेव घिमिरेले हालै सम्पन्न कक्षा १२ (दश जोड दुई) को परीक्षामा देखिएका त्रुटिप्रति आपत्ति जनाउँदै यस्ता कमजोरी दोहोरिन नदिन आवश्यक सुधार गर्न आग्रह गरे ।

सांसद सम्झना देवकोटाले गोरखा जिल्लाको हिमाली क्षेत्रमा रहेका दुईवटै सीमा नाका बन्द हुँदा स्थानीय जनजीवन प्रभावित भएको बताउँदै कम्तीमा पर्यटकीय पदमार्ग सञ्चालनका लागि भए पनि नाका खोल्न सरकारसँग माग गरिन् ।

यस्तै, सांसद सोमनाथ पोर्तेलले सुपारी निर्यातमा अवरोध सिर्जना भएको भन्दै सुपारीको डीएनए परीक्षण गर्ने निर्णय तत्काल फिर्ता लिन र किसानको हित संरक्षण गर्न सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?