जनतालाई मात्र होइन, गल्ती गरे राज्यलाई पनि जरिवाना तिराउँ : ज्ञानेन्द्र शाही

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर ‘ज्ञानेन्द्र’ शाहीले सडकको खराब अवस्थाका कारण सवारी दुर्घटना भए सम्बन्धित सरकारी निकाय र निर्माण ठेकेदारमाथि ज्यान मार्ने उद्योगको मुद्दा चलाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता शाहीले सरकारले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकलाई कडा सजाय र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने तयारी गरिरहेको चर्चा भइरहेका बेला राज्य पनि आफ्ना कमजोरीप्रति समान रूपमा जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

उनले नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा जरिवाना तिर्नुपर्ने भए राज्यले पनि सडकमा खाल्डाखुल्डी, बिग्रिएका ट्राफिक बत्ती, सडक बत्ती नबलेको, ट्राफिक प्रहरीको दुर्व्यवहार तथा समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन नसकेको अवस्थामा आर्थिक दण्ड तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।

शाहीले सडकको खाल्डाका कारण दुर्घटना भएर नागरिकको ज्यान गए वा घाइते भए सम्बन्धित सरकारी निकाय र ठेकेदारलाई ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाउने कानुन ल्याउन कानूनमन्त्रीसँग सभामुखमार्फत आग्रह गरे ।

उनले जनतालाई मात्र दण्डित गर्ने कानुन ल्याउनु उचित नहुने भन्दै राज्य पनि आफ्ना कमजोरी र लापरबाहीप्रति उत्तिकै जवाफदेही हुनुपर्ने धारणा व्यक्त गरे । साथै, सरकारले जनताको हितअनुकूल काम गर्न नसकेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?