सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस् : सांसद गुरुङ

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ नबन्न चेतावनी दिँदै कक्षा १२ को परीक्षाफलमा देखिएको गम्भीर त्रुटिबारे निष्पक्ष छानबिन गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक अन्यायमा परेको बताइन् । करिब ३० दिनभित्र नतिजा सार्वजनिक गर्नुलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरे पनि त्यसले विद्यार्थीको भविष्यमाथि नै खेलबाड गरेको उनको आरोप थियो ।

सांसद गुरुङले माइतीघर मण्डलामा न्यायको माग गर्दै आन्दोलनरत विद्यार्थीको मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइन् । उनले नतिजा प्रकाशनमा भएको लापरवाहीबारे उच्चस्तरीय, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिन् ।

हाल गठन गरिएको छानबिन समिति केवल औपचारिकतामा सीमित हुन नहुनेमा जोड दिँदै उनले प्रक्रियागत कमजोरीको वास्तविक कारण सार्वजनिक गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ, तर नतिजाको शुद्धतामा नै असर गर्ने गरी प्रक्रियामा तोडमरोड गरिनु निन्दनीय छ। रिटोटलिङका नाममा विद्यार्थी लुट्ने काम बन्द गरियोस् र निःशुल्क पुनर्मूल्याङ्कनको व्यवस्था गरियोस् । सरकार स्मार्ट बनोस्, त्यसमा हाम्रो शुभेच्छा, शुभकामना र साथ छ। तर पटकपटक हरेक विषयमा प्रश्नै–प्रश्नले घेर्ने गरी सरकार ओभर स्मार्ट बन्न नलागोस् ।’

सांसद गुरुङले पुनःयोग (रिटोटलिङ) का लागि विद्यार्थीबाट असुलिने चर्को र अव्यावहारिक शुल्क तत्काल खारेज गर्न पनि माग गरिन् । विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका तथा परीक्षा राम्रो दिएका विद्यार्थीसमेत अहिलेको नतिजाबाट असन्तुष्ट हुनु परीक्षा प्रणाली, मूल्याङ्कन तथा कोडिङ–डिकोडिङ प्रक्रियामा गम्भीर त्रुटि रहेको संकेत भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?