बाढी र पहिरोका कारण  मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ ?

लोकपथ
77
Shares

काठमाडौं । लगातार वर्षा र सडक मर्मतका कारण विभिन्न प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ ।

नेपाल प्रहरीले आज बिहान ९ बजेसम्म संकलन गरेको विवरण अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।

नेपाल प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा असार १३ गते खसेको पहिरोका कारण सडक अझै पूर्ण रूपमा अवरुद्ध छ । त्यस क्षेत्रमा यातायात सञ्चालन सुचारु हुन सकेको छैन ।

त्यस्तै, मध्यपहाडी लोकमार्गको भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण सडकमा क्षति पुगे पनि हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ । सो स्थानमा यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग समेत व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । उक्त अवरोध जेठ २२ गतेदेखि नै निरन्तर कायम रहेको छ ।

यसैगरी, कुलेखानी–फाखेल–हुमाने–फर्पिङ काठमाडौं सडक खण्डमा सडक मर्मत कार्यका लागि पूर्ण रूपमा यातायात बन्द गरिएको छ। यो खण्ड करिब एक महिनासम्म बन्द रहने जानकारी सम्बन्धित निकायले दिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलामा आजै खसेको पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षा र पहिरोका घटनाले मुख्य राजमार्गहरू प्रभावित हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?