काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीको मतदान सुरु भएको छ ।
रास्वपाको पदाधिकारीमा सभापतिपछि महामन्त्रीमा सबैभन्दा धेरै आकर्षण देखिने गर्दछ । यसअघि ११ जनाले महामन्त्रीमा उम्मेदवारी दिएकोमा अहिले ४ जनाको मात्रै उम्मेदवारी कायम छ ।
परराष्ट्रमन्त्री समेत रहेका शिशिर खनालले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै अन्य ६ जनाले समेत उम्मेदवारी फिर्ता लिइसकेका छन् । उम्मेदवारी फिर्ता लिनेमा कविन्द्र बुर्लाकोटी, शिशिर खनाल, राजुनाथ पाण्डे, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुलले उम्मेदवारी फिर्ता लिए ।
जजसले उम्मेदवारी फिर्ता लिए उनीहरुले महामन्त्रीका उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
यता अहिले महामन्त्रीमा विपिनसहित मनिष झा, गणेश कार्की र सागर ढकाल मैदानमा रहेका छन् ।
यसअघि सहमहामन्त्री भएर काम गरिसकेका मनिषलाई अन्य आकांक्षी उम्मेदवारले समर्थन नगर्न केही असहज हुने देखिन्छ । अन्य उम्मेदवारहरुले उनका प्रतिद्धन्द्धी विपिनलाई समर्थन गरेका कारण त्यसले विपिनलाई थप सहजता छ ।
त्यसो त रास्वपा महाधिवेशनमा सबै भन्दा पहिले महामन्त्रीमा दाबी गर्ने मनिष नै हुन् । उनले अहिलेसम्म आफ्नो अडानलाई कायम गरेका छन् ।
उनले अन्य उम्मेदवारहरुले आफ्ना निकटतम प्रतिद्धन्द्धी मानिएका व्यक्तिलाई समर्थन गरे पनि आफू अडानबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा गर्ने र कसैले भनिदिएको भरमा फेरि फिर्ता लिने काम कमजोर राजनीतिज्ञले मात्र गर्ने भन्दै कटाक्ष गरे ।
उनले भनेका छन् :
यो महाधिवेशनका क्रममा सबैभन्दा पहिले उम्मेदवारी घोषणा गर्ने मान्छे मै हुँ कि म महामन्त्रीमा उठ्दैछु भनेर । यो आलोकाँचो राजनीति पनि गर्नु हुँदैन के, हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने ? देश, नेतृत्व र राजनीतिका लागि एकदम सशक्त भएर राजनीति गर्न सक्ने इच्छाशक्ति र त्यो आँट भएको व्यक्तिहरु भिडिरहन्छन् परिणाम जे सुकै होस् । फलानोको फोन आएपछि सोचौँला, फलानोको फोन आएपछि सोधौँला भन्ने राजनीति हुँदैन । त्यसैले म सशक्त रुपमा लागेको छु, अघि बढिरहेको छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया