काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सङ्गठनको छवि सुधार्दै जनअपेक्षाअनुसार नतिजामुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सीमा सुरक्षाको क्षेत्रमा जनशक्ति र प्रविधिसम्बन्धी चुनौती रहे पनि उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइने उनले बताए ।
महानिरीक्षक पौडेलका अनुसार सीमा नाकामा हुने नागरिक आवतजावतलाई सहज बनाउन, स्क्रिनिङ प्रक्रियालाई प्रभावकारी बनाउन तथा सीमा अपराध नियन्त्रणका लागि ‘बोर्डर इन्टरयाक्सन टिम (बीआईटी)’ को अवधारणा ल्याइएको छ । प्रमुख नाकाहरूमा यसलाई पाइलट परियोजनाका रूपमा कार्यान्वयन गरिने र समकक्षी सुरक्षा निकायसँग आवश्यक समन्वय गरिने उनले जानकारी दिए ।
राजश्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले सङ्गठनभित्र आर्थिक सुशासन र पारदर्शिता कायम गर्न ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अवलम्बन गरिने स्पष्ट पारे ।
आर्थिक अनियमिततासम्बन्धी गुनासाहरूको समयमै सम्बोधन गर्दै संरचनागत सुधारलाई प्राथमिकता दिइने उनको भनाइ थियो ।
सङ्गठनको नीतिगत तथा संरचनागत विकासका लागि ‘नीति अनुसन्धान तथा योजना निर्देशनालय’ लाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले भविष्यमा सशस्त्र प्रहरीको जिम्मेवारी र कार्यक्षेत्रलाई थप प्रभावकारी बनाउन अध्ययन, अनुसन्धान तथा योजना निर्माणमा निर्देशनालयले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विपद् व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण गर्दै महानिरीक्षक पौडेलले हाल सम्भावित विपद्लाई मध्यनजर गर्दै पूर्ण तयारीका साथ प्रतिकार्य योजना लागू गरिएको र सम्बन्धित निकायहरूसँग समन्वय गरी काम भइरहेको बताए ।
उनले सूचना प्रविधि तथा सञ्चार प्रणालीलाई समयानुकूल स्तरोन्नति गर्ने कार्य पनि जारी रहेको जानकारी दिए । साथै, सशस्त्र प्रहरी बलसम्बन्धी नयाँ कानुन निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै कानुनी तथा नीतिगत स्पष्टताका लागि सरोकारवाला पक्षबाट रचनात्मक सुझावको अपेक्षा गरे ।
दुई दशकभन्दा लामो इतिहास बोकेको सशस्त्र प्रहरी बललाई विद्यमान संरचनाकै आधारमा अझ प्रभावकारी, उत्तरदायी र नतिजामुखी संस्थाका रूपमा विकास गर्न आफू केन्द्रित रहने महानिरीक्षक पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया