काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि मतदान सुरु भएपछि प्रतिनिधिहरु धमाधम घर फर्कन थालेका छन् ।
तोकिएको समयभन्दा महाधिवेशन दुई दिन लम्बिएपछि प्रतिनिधिहरु घर फर्किन थालेका हुन् ।
बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यका लागि मतदान जारी छ । बिहीबार दिउँसोसम्म मतदान प्रक्रिया जारी रहने अनुमान गरिएको छ ।
महाधिवेशनको विधानअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्र पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुने व्यवस्था छ । तर, दोस्रो चरणको मतदान नपर्खी धेरै प्रतिनिधि घर फर्कन थालेका छन् ।
प्रतिनिधिहरुका अनुसार मंगलबारदेखि नै महाधिवेशन लम्बिएसँगै सहभागीहरु फर्किन थालेका हुन् । भूगोलबाट केन्द्रीय सदस्यमा उठेका एक उम्मेदवारका अनुसार करिब ५० प्रतिशतभन्दा बढी प्रतिनिधि चितवन छोडिसकेका छन् ।
निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब ४,१०० प्रतिनिधि सहभागी छन् । तर, यकिन तथ्याङ्क सार्वजनिक गरिएको छैन ।
पदाधिकारी चयनका लागि हुने दोस्रो चरणको मतदानको कार्यतालिका निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया