काठमाडौं । नेपाली अटो बजारमा निकै रुचाइएको इलेक्ट्रिक माइक्रो एसयूभी टाटा पञ्च ईभी (TATA Punch.ev) थप शक्तिशाली र परिमार्जित रूपमा नेपाल भित्रिने भएको छ ।
आगामी साउन अन्तिम साता काठमाडौंमा आयोजना हुन गइरहेको ‘नाइमा अटो शो’ मा टाटा मोटर्सले यस गाडीको नयाँ २०२६ संस्करण नेपाली उपभोक्तामाझ सार्वजनिक गर्ने तयारी गरेको छ ।
यस पटकको मुख्य आकर्षण भनेको गाडीमा गरिएको ब्याट्री क्षमताको अपग्रेड हो । हाल नेपाली सडकमा गुडिरहेको पञ्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री प्याक रहेकोमा, नयाँ आउने मोडलमा त्यसलाई बढाएर ४० किलोवाट आवर पुर्याइएको छ । यो लङ रेन्ज ब्याट्री प्याकले चालकलाई लामो र उकालो यात्रामा थप आत्मविश्वास र भरोसा प्रदान गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ४६८ किलोमिटरको प्रमाणित रेन्ज दिन्छ । वास्तविक सडकको अवस्थामा भने यसले ३३५ देखि ३५५ किलोमिटरसम्म सहजै माइलेज दिने कम्पनीको दाबी छ ।

अगाडिको एक्सेलमा जडान गरिएको सिंगल इलेक्ट्रिक मोटरले १२७ हर्सपावर उत्पन्न गर्छ । यसले गर्दा गाडीले मात्र ९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ । त्यति मात्र होइन यसमा ईको, सिटी र स्पोर्ट गरी ३ वटा ड्राइभिङ मोड र ४ वटा रिजेनेरेसन मोडहरू उपलब्ध रहेका छन् ।
फास्ट चार्जिङ प्रविधि
नयाँ पञ्च ईभीले ६५ किलोवाटको डिसी फास्ट चार्जिङ सपोर्ट गर्दछ । जसले २६ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन सक्दछ । यसमा जडान भएको अर्को विशेष फिचर्स भनेको १५ मिनेट चार्ज गर्दा यो गाडीले १३५ किलोमिटरसम्म आफ्नो गति दिन सक्छ ।
ग्राहकले घरमै चार्ज गर्नका लागि ३.३ किलोवाट र ७.२ किलोवाटका चार्जरहरू समेत प्रयोग गर्न सक्नेछन् ।
अत्याधुनिक डिजाइन र इन्टेरियर
नेपालमा अहिले उपलब्ध प्रिमियम ‘इम्पावर्ड’ भेरियन्टकै निरन्तरताका रूपमा नयाँ मोडल आउने अनुमान गरिएको छ .। यसको बाहिरी र भित्री बनावटमा समेत व्यापक परिमार्जन गरिएको छ । नेपाली सडकका खाल्डाखुल्डी र अप्ठ्यारा बाटोलाई लक्षित गर्दै यसमा १९५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ भने यसको वाटर वेडिङ क्षमता ४५० एमएम रहेको छ ।
कम्पनीका अनुसार उक्त गाडीको भित्री भागमा दुई वटा स्पोक भएको नयाँ स्टेरिङ ह्विल र १०.२५ इन्चका दुई वटा डिजिटल स्क्रिन (इन्फोटेनमेन्ट र ड्राइभर डिस्प्ले) रहेका छन् ।
भ्वाइस कमान्डबाट चल्ने सनरुफ, भेन्टिलेटेड एगाडिका सिट, वायरलेस चार्जर, टच–बेस्ड एसी कन्ट्रोल, एन्ड्रोइड अटो र एप्पल कारप्ले लगायतका सुविधाहरु रहेका कारण यसमा थप आधुनिक प्रविधि रहेको पुष्टि गर्दछ ।
सुरक्षामा विशेष जोड
टाटा मोटर्सले सुरक्षाका दृष्टिकोणबाट यस गाडीलाई निकै बलियो बनाएको छ । नयाँ पञ्च ईभीका सबै भेरियन्टमा ६ वटा एयरब्याग अनिवार्य गरिएको छ । यसका साथै ३६० डिग्री क्यामेरा र ब्लाइन्ड भ्यु मोनिटर राखिएको छ । यसैगरी एबिएस, इबिडी र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट र टायर प्रेसर मोनिटरिङ सिस्टम तथा बालबालिकाको सुरक्षाका लागि आइसोफिक्स चाइल्ड माउन्ट सिट पनि दिइएको छ ।
भारतीय बजारमा यो गाडी ब्याट्रीसहित खरिद गर्दा सुरुवाती मूल्य ९ लाख ६९ हजार भारुदेखि अधिकतम १२ लाख ५९ हजार भारुसम्म तोकिएको छ । भारतमा उपलब्ध ‘बास’ अर्थात् ब्याट्री भाडामा लिने मोडेल भने हाल नेपालमा उपलब्ध हुने छैन ।
नेपालको खाल्डाखुल्डीपूर्ण सडक र भौगोलिक बनावटका कारण नेपालमा एसयूभी गाडीहरूको माग बढिरहेको बेला, थप ब्याट्री क्षमता र आक्रामक लुक्ससहित आउन लागेको यो ‘माइक्रो एसयूभी’ ले नेपाली ईभी बजारमा आफ्नो बलियो उपस्थिति अझै बढाउने निश्चित देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया