श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने सरकारको चेतावनी

लोकपथ
56
Shares

काठमाडौं । सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा.दीपक काफ्लेले न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काममा लगाउनु कानुनविपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि कानुनी कारबाही हुने बताएका हुन् ।

बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै सचिव काफ्लेले श्रमिकको मानव अधिकार संरक्षण र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सरकारले विभिन्न श्रम मापदण्ड तथा कार्ययोजना कार्यान्वयन गरिरहेको जानकारी दिए ।

उनले श्रमिकले काम गरुन्जेल सुरक्षित वातावरणमा श्रम गर्न पाउनुपर्ने र श्रम गर्न नसक्ने अवस्थामा पुगेपछि पनि जीवनयापनका लागि सामाजिक सुरक्षाको व्यवस्था आवश्यक रहेको बताए । श्रमिकको सामाजिक सुरक्षालाई मानव अधिकारको महत्वपूर्ण पक्षका रूपमा सरकारले लिएको उनको भनाइ थियो ।

सचिव काफ्लेले श्रमिकको सुरक्षा, व्यवसायिक सुरक्षा तथा भविष्यको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न श्रम मापदण्ड निर्माण गरी कार्ययोजनाअनुसार काम भइरहेको स्पष्ट पारे ।

उनले विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकको मानव अधिकार संरक्षणका लागि पनि सरकार प्रतिबद्ध रहेको दाबी गरे । वैदेशिक रोजगारीका क्रममा श्रमिकमाथि हुने शोषण तथा अधिकार हनन रोक्न आवश्यक नीतिगत तथा व्यवहारिक पहललाई सरकारले प्राथमिकतामा राखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?