विश्वकपमा रोनाल्डोको दमदार पुनरागमन, पोर्चुगल विजयी

लोकपथ
49
Shares

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै टोलीलाई ५–० को ठूलो जित दिलाएका छन् । यससँगै उनले जारी विश्वकपमा आफ्नो पहिलो गोल पनि गरेका छन् ।

पहिलो खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोसँग १–१ को बराबरी खेलेपछि आलोचना खेपिरहेको पोर्चुगलका लागि यो जित निकै महत्त्वपूर्ण रह्यो । रोनाल्डोले पहिलो हाफमै दुई गोल गरेपछि पोर्चुगलले खेलमा पूर्ण नियन्त्रण कायम गर्यो ।

४१ वर्षीय रोनाल्डोले विश्वकपका छ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेर नयाँ इतिहास रचेका छन् । साथै उनले पोर्चुगलका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान युसेबियोको नाममा थियो ।

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डो र लियोनल मेसीबीचको प्रतिस्पर्धाले फुटबललाई अझ लोकप्रिय र उत्कृष्ट बनाएको बताए। उनले रोनाल्डोलाई युवा खेलाडीहरूका लागि प्रेरणादायी व्यक्तित्वसमेत बताए ।

दुई गोल गरेपछि मैदान छाड्ने क्रममा रोनाल्डो निकै उत्साहित देखिएका थिए। तर प्रशिक्षक मार्टिनेजका अनुसार रोनाल्डोले कहिल्यै आफ्नो आत्मविश्वास गुमाएका छैनन् र उनी सधैं मेहनत गर्न तयार रहन्छन् ।

उज्बेकिस्तानका प्रशिक्षक फाबियो कानाभारोले पनि रोनाल्डोको प्रशंसा गर्दै उनलाई अवसर दिनु खतरनाक हुने बताए। उनका अनुसार रोनाल्डो सानो मौका पाए पनि गोल गर्न सक्षम खेलाडी हुन् ।

यसैबीच, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डोलाई उनको ऐतिहासिक उपलब्धिका लागि बधाई दिएका छन् र प्रतियोगिताका बाँकी खेलका लागि शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?