सुकुमबासीलाई कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न ५ दिने अल्टिमेटम

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौंका नदी किनारबाट हटाएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा लगिएका सुकुमबासी तथा भूमीहिनहरुलाई उक्त स्थान छाड्न भनिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आगामी असार १२ गतेसम्म (५ दिनभित्र) होल्डिङ सेन्टर खाली गर्न भनेको हो ।

समितिले आगामी शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गरेर स्वव्यवस्थापन गर्न भन्दै सूचना टाँस गरेको छ ।

उक्त होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना परिवारलाई राखिएको छ । सरकारले प्रत्येक परिवारको स्वः व्यवस्थापनका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउनेछ ।

सरकारले तोकेको राहत रकम प्राप्त गर्नका लागि निवेदन दिनुपर्ने र सो रकम सम्बन्धित व्यक्तिको बैंक खातामा सोझै पठाइने छ ।

उनीहरुलाई घर भाडाको रकम मासिक रुपमा किस्ताबन्दीमा सोही खातामा उपलब्ध गराइनेछ ।

‘घर भाडाका लागि तोकिएको रकम मासिक रुपमा किस्ताबन्दीमा सोही खातामा उपलब्ध गराइनेछ,’ सूचनामा भनिएको छ, ‘पुनस्र्थापना रकम प्राप्त भए पश्चात शिविर बन्द हुने भएकाले खाली गरी स्वः व्यवस्थापन गर्नुहुन अनुरोध छ ।’

त्यस्तै सरकारले उपलब्ध गराएको पुनस्थापना रकम नपाएमा समितिमा सम्पर्क गर्न समेत भनिएको छ ।

‘यो सूचना प्रकाशित भएको मितिले ५ दिन (२०८३–०३–१२) भित्र खाली गरी स्वः व्यवस्थापन गर्नुहुन,’ सूचनामा भनिएको छ, ‘पुनस्र्थापना रकम प्राप्त नभएमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा कार्यालय समयमा सम्पर्क गर्नुहुन ।’

वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकार आइसकेपछि काठमाडौंका खोला किनारमा रहेका सुकुमबासी तथा भूमीहीनहरुलाई सरकारले हटाएको थियो । कतिपय सुकुमबासीहरुलाई यसअघि नै सरकारले बनाएको अपार्टमेन्टमा राख्ने भनिएको र कतिपयलाई तत्कालका लागि होल्डिङ सेन्टरमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?