काठमाडौं । नेपालमा मनसुन प्रवेश गरिसके पनि तराईका केही क्षेत्रमा तातो लहर (हिटवेभ) को जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा आज पनि तातो हावाको लहर चल्न सक्ने सम्भावना छ ।
मौसम पूर्वानुमानअनुसार धनगढी र नेपालगन्जमा हिटवेभको प्रभाव रहने सम्भावना रहेको छ । धनगढीमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस र नेपालगन्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
वीरेन्द्रनगर, घोराही र भैरहवालगायतका क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहने सम्भावना रहेको छ । यता पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायत स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ । पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा वर्षाको सम्भावना ४० प्रतिशतसम्म रहेको छ ।
काठमाडौं उपत्यकामा आज दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको छ भने राति हल्का वर्षाको सम्भावना ३० प्रतिशत रहेको विभागले जनाएको छ। उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको उनले बताए ।
विभागले जारी गरेको प्रादेशिक मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ । बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षाको गतिविधि सक्रिय रहने अनुमान गरिएको छ ।
मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने वर्षासँगै तातो दिनको अवस्था रहने सम्भावना छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । रातिको समयमा अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
विभागले मेघगर्जन, चट्याङ तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया