काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आवद्ध अस्पताल तथा प्रतिष्ठानहरुका लागि २३ अर्ब बढी बीमा वापतको रकम भुक्तानी गरेको छ ।
बोर्डले लामो समयदेखि स्वास्थ्य बीमाको दाबी भुक्तानी पाउन नसकेका अस्पतालहरुलाई २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४ सय १९ रुपैयाँ भुक्तानी गरेको हो ।
बोर्डको सोमबार बसेको बैठकले यसअघिको बाँकी रकम भुक्तानी भएको जनाएको छ ।
बोर्डका अनुसार ०८२ साल असोज, कार्तिक र मंसिर मसान्तसम्ममा आर्थिक वर्ष ०८१–०८२ को दाबी रकम मध्ये १८ अर्ब ६४ करोड ९१ लाख ३३ हजार १४१ रहेको थियो । साथै आर्थिक वर्ष ०८२–०८३ को ९ अर्ब १६ करोड ७९ लाख २० हजार ३३८ सहित रुजु दाबी २७ अर्ब ८१ करोड ७० लाख ५३ हजार ४८० मध्ये गत आर्थिक वर्षमा ४ अर्ब ३६ करोड ६९ लाख १२ हजार ५९० सम्बन्धित संस्थाका नाममा गत आवकै रुजु दाबी रकम खर्च लेखी पेश्की फर्र्यौट गरिएको थियो । त्यसमध्ये बाँकी रहेको २३ अर्ब ४५ करोड १ लाख ४० हजार ८ सय ९० मध्ये आर्थिक वर्ष ०८१–०८२ को पूरै र आर्थिक वर्ष २०८२–०८३ को साउनदेखि ०८२ मंसिर मसान्तसम्मको दाबी स्वीकृत भइ हाल रहेको २३ अर्ब बढीको दाबी भुक्तानी भएको बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जानकारी दिइन् ।
कुन अस्पतालले कति पाए ?
देशकै ठूलो र धेरै बिरामीहरुको चाप रहने वीर अस्पतालले बाँकी रहेको ४ करोड बढी बीमा दाबी भुक्तानी पाएको छ ।
बोर्डका अनुसार वीरलाई ४ करोड ४८ लाख ८७ हजार ७ सय ६२ रुपैयाँ भुक्तानी दिइएको छ । त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई ४ करोड ४ लाख ४ हजार १९४ भुक्तानी दिइएको छ ।
यता चितवन मेडिकल कलेजलाई १ करोड १८ लाख ६६ हजार ९ सय ८ रुपैयाँ बीमा दाबी भुक्तानी गरिएको छ। भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पतालले ४ करोड २१ लाख २९ हजार ३० रुपैयाँ, ख्वपा अस्पतालले ३ करोड ३९ लाख ५६ हजार ८८४ रुपैयाँ भुक्तानी पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया