झापामा गुणस्तरहीन नक्कली ‘जुस’ भेटिएपछि कारबाही, झन्डै ५ लाखको म्याङ्गो र ओरेन्ज ड्रिंक्स नष्ट गरियो

लोकपथ
329
Shares

झापा । जिल्ला प्रशासन कार्यालय झापा र अर्जुनधारा नगरपालिकाको संयुक्त अनुगमन टोलीले अनिवार्य गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै ओआरएस ब्रान्डको जुसको ठुलो मात्रा नष्ट गरेको छ । अनुगमनका क्रममा फ्रुट एग्रो प्रडक्ट प्रालि झापाले उत्पादन गरेको म्याङगो र ओरेन्ज जुसमा स्वाद अर्थात् फ्लेभर मात्रै पाइएपछि नष्ट गरिएको हो ।

फलफूलको जुस मिसिएको पेय पदार्थमा फलफूलको जुस कम्तीमा १० प्रतिशत हुनै पर्ने नेपाल सरकारको मापदण्ड रहेको भए पनि फ्रुट एग्रोबाट उत्पादन भएको उक्त जुसमा फलफूलको जुसको मात्रा अत्यन्तै न्यून मात्रै रहेको अनुगमनमा पाइएको थियो ।

कम्पनीले फलफूलको जुस भन्दै फ्लेभर मात्रै हालेर बजारमा नक्कली जुस बिक्रीका लागि पठाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले उक्त जुसहरू नक्कली रहेको पाएको हो ।

अनुगमन टोलीले उद्योगकै गोदाममा भण्डारण गरी राखिएको अवस्थामा फ्रुट एग्रोको ओआरएस ब्रान्डको म्याङगो ड्रिंक्स ४९८ कार्टुन र ओरेन्ज ड्रिंक्स २५० कार्टुन गरी कुल ७४८ कार्टुन नक्कली जुसहरू नष्ट गरेको हो ।

नष्ट गरिएका ती जुसहरूको अनुमानित बजार मूल्य ४ लाख ९२ हजार ९ सय ३२ रुपैयाँ रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहबरमा नक्कली म्याङ्गो र ओरेन्ज जुस नष्ट गरिएका हुन् ।

नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको ‘फलफूलको पेय पदार्थको अनिवार्य गुणस्तर मापदण्ड’ अनुसार बजारमा बिक्री हुने कुनै पनि फलफूलका पेय पदार्थ अर्थात् फ्रुट ड्रिंक्समा कम्तीमा १० प्रतिशत प्राकृतिक फलको रस हुनै पर्ने प्रावधान छ । तर उक्त उद्योगले उत्पादन गरेको म्याङ्गो र ओरेन्ज जुसमा सो मापदण्ड पूरा नगरेको प्रारम्भिक परीक्षणबाट देखिएपछि तुरुन्त कारबाही गरिएको अनुगमन विभागले जनाएको छ ।

खाद्य ऐन, २०७५ र खाद्य नियमावली, २०७८ मा उल्लेख भए अनुसार फलफूल पेय पदार्थलाई तीन वर्गमा वर्गीकरण गरिएको छ, जुसमा फ्रुट जुस (जसमा १०० प्रतिशत रस), फ्रुट नेक्टर जसमा २५ देखि ५० प्रतिशत रस र फ्रुट ड्रिंक्स जसमा कम्तीमा १० प्रतिशत प्राकृतिक रस हुनै पर्ने बाध्यता छ ।

‘फ्रुट ड्रिंक्स’ लेबल भएका जुसहरूमा न्यूनतम १० प्रतिशत फलको रस, निर्धारित मात्रामा चिनी, एसिडिटी र अन्य गुणस्तर सूचक अनिवार्य गरिएको हुन्छ । ओआरएस ब्रान्डले उत्पादन गरेको म्याङ्गो ड्रिंक्स र ओरेन्ज ड्रिंक्समा भने सोही १० प्रतिशत प्राकृतिक रस नभएकोले ती पेय पदार्थ सार्वजनिक स्वास्थ्यका लागि हानिकारक रहेको ठहर गर्दै नष्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?