चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह शनिबार चितवनमा सम्पन्न भएको छ । समारोहमा विश्वविद्यालयका विभिन्न संकायबाट अध्ययन पूरा गरेका दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको भविष्य कृषिको विकाससँग जोडिएको उल्लेख गर्दै सरकारले कृषि क्षेत्रको उन्नयनका लागि आवश्यक प्रयास गरिरहेको बताए ।
उनले चितवनको पहिचान कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग जोडिएको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई प्राप्त शैक्षिक उपाधिलाई केवल प्रमाणपत्रका रूपमा नभई राष्ट्र, समाज र भावी पुस्ताप्रतिको जिम्मेवारीको प्रतीकका रूपमा ग्रहण गर्न आग्रह गरे । विश्वविद्यालयबाट हासिल गरेको ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरुआत गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।
मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै प्रमुख आधार भएको बताउँदै कृषि रूपान्तरण विज्ञान, प्रविधि र दक्ष जनशक्तिमा निर्भर रहने धारणा राखे ।
समारोहका प्रमुख अतिथि लद्दाख विश्वविद्यालयका उपकुलपति प्राध्यापक साकेत कुसवाहाले नेपाल र भारतबीचको साझा सांस्कृतिक, दार्शनिक तथा ज्ञान परम्पराबारे चर्चा गर्दै शिक्षा मानव जीवनको मार्गदर्शक प्रकाश भएको बताए ।
विश्वविद्यालयका उपकुलपति प्रा। होमबहादुर बस्नेतले दीक्षित विद्यार्थीहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न आग्रह गरे ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा। सुवीर सिंहका अनुसार यस वर्ष स्नातक तहबाट एक हजार ८३६, स्नातकोत्तर तहबाट ३२७ र विद्यावारिधि (पीएचडी) तहबाट ३० जना गरी कुल दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया