रास्वपाको महाधिवेशनमा ४ हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने

लोकपथ
28
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा चार हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार महाधिवेशनमा चार हजार २१० प्रतिनिधि रहने रास्वपाको केन्द्रीय सचिवालयले जनाएको छ ।

सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार हालसम्मको प्रारम्भिक सूचीमा तीन हजार ८१० प्रतिनिधि समावेश छन् । यसमा २५ देशका प्रवास सम्पर्क विभागबाट करिब २०० प्रतिनिधि थपिनेछन् ।

विधानअनुसार पार्टी सभापतिले २०० प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था रहेको छ । साथै समूहगत रूपमा पार्टी प्रवेश गर्ने सदस्यबाट समेत केही प्रतिनिधि थप हुन सक्ने श्रेष्ठले बताए । प्रतिनिधिको सूचीमा दाबी–विरोध, दोहोरो नाम र छुटेका नाम समावेश गरी अन्तिम नामावली आज साँझसम्म सार्वजनिक गरिने तयारी गरिएको छ ।

उनका अनुसार आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले मनोनयन गर्ने प्रतिनिधिको नाम पेस गरेपछि अन्तिम सूची टुंगो लाग्नेछ ।

प्रारम्भिक तथ्याङ्कअनुसार कोशी प्रदेशबाट ५२०, मधेसबाट ६३०, बागमतीबाट ७९०, गण्डकीबाट ४७०, लुम्बिनीबाट ४९०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

रास्वपाको विधानअनुसार पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ ।

त्यस्तै, सङ्घीय नेतृत्व मञ्चका सदस्य, केन्द्रीय समितिका सबै सदस्य, केन्द्रका ३८ विभागबाट ११–११ जना सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका सदस्य पनि प्रतिनिधिका रूपमा सहभागी हुनेछन् ।

प्रत्येक गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहनेछन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट उपविजेता बनेका तथा समानुपातिक सूचीमा रहेका व्यक्तिहरू पनि महाधिवेशन प्रतिनिधि हुनेछन् । २०७९ सालको निर्वाचनमा समानुपातिक बन्दसूचीमा परेर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत प्रतिनिधिको अधिकार दिइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू पनि प्रतिनिधिका रूपमा सहभागी हुने व्यवस्था गरिएको छ ।

रास्वपाको महाधिवेशनको उद्घाटन सत्र आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा हुनेछ भने बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ ।

महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् । प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह पनि आइतबार चितवन पुग्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?