‘सुकुमबासी बस्ती हटाउन कुनै पनि स्थानमा सेना परिचालन गरिएको थिएन’

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा नेपाली सेनालाई कुनै पनि स्थानमा परिचालन नगरेको स्पष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले यस्तो बताएका हुन् ।

उनले सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा सेना नभई नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा तथा सहजीकरणको काम गरेको जिकिर गरे । उनले राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र सीमाको रक्षाका लागि सरकारको नीति तथा निर्देशनअनुसार आवश्यकताका आधारमा नेपाली सेनासहित सुरक्षा निकायको उपस्थिति मुलुकका विभिन्न क्षेत्रमा रहने बताए । उनले सुरक्षा निकायको नियमित जिम्मेवारी र सुकुम्बासी व्यवस्थापनका क्रममा भएको सुरक्षा सहजीकरणलाई फरक रूपमा बुझ्न आग्रह गरे ।

उनले भने, ‘नेपाल सरकारले नेपाली सेनालाई सु्कुमबासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनैपनि स्थानमा खटाएको थिएन । जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षा र सहजिकरणको प्रबन्ध गरेको व्यहोरा जानकारी गराउन चाहन्छु । मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशनबमोजिम मुलुकको सबै भूभागमा आवश्यकताअनुसार नेपाली सेना लगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको व्यहोरा माननीयज्यूहरुलाई जानकारी गराउन चाहन्छु ।’

उनले मुलुकको सीमाको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?