जन्मदिनकै दिन महराको ‘सरप्राइज’, छाडे पार्टी

लोकपथ
7.7k
Shares

काठमाडौं । कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।

उमेरले बिहीबार (आज)बाट ७० वर्ष पुगेका महराले शारीरिक कारणले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिबाट विश्राम लिएको घोषणा गरे ।

पूर्व सभामुख समेत भइसकेका महराले आफूले विभिन्न रोगका कारण सक्रिय हुन नसक्ने समेत जानकारी गराएका छन् ।

‘आज मेरो जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण आदरणीय आफन्त, मित्रजन, शुभेच्छुक तथा सहकर्मीहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु । उमेरको ७०औँ वर्षमा प्रवेश गर्दै गर्दा, लामो समयदेखि स्वास्थ्यमा देखिएको अस्वस्थताका कारण सक्रिय राजनीतिबाट बिदा हुने निर्णय गरेको छु । राजनीतिक यात्रामा साथ, सहयोग, विश्वास र माया प्रदान गर्नुहुने सबैप्रति सदैव ऋणी रहनेछु। आगामी दिनहरूमा पनि यहाँहरूको स्नेह, सद्भाव र शुभेच्छा निरन्तर रहने विश्वास लिएको छु,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

यसैगरी महराले विगत ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आफूले पुर्‍याएको योगदानबारे स्मरण गरेका छन् । चौथो महाधिवेशनदेखि हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सम्म आइपुग्दा जीवनको महत्वपूर्ण समय राजनीतिमा बिताएको स्मरण गरेका छन् ।

महरा केही वर्षयता एट्रोफीसम्बन्धी रोगबाट पीडित रहेका छन् । नसा तथा मांसपेशीहरु खुम्चिने लगायतका शारीरिक समस्या देखिएका कारण आफूले पार्टी काममा प्रभावकारी ढंगले अघि बढ्न नसकेको समेत बताएका छन् ।

‘केही वर्षयता म एट्रोफीसम्बन्धी रोगबाट पीडित छु । नसाहरु तथा मांशपेशीहरु क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन । परिणामस्वरुप, पार्टीका नियमित गतिवधि र जिम्मेवारीहरुमा विगतमाझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ,’ महराले भनेका छन् ।

उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बिदा लिए पनि साधारण सदस्यका रुपमा रहने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?