राप्रपा छाडेका उपाध्यक्ष राजभण्डारीले खोजे अध्यक्ष लिङ्देनले इलाममा बनाएको रिसोर्ट र अमेरिकामा किनेको घरको आर्थिक स्रोत 

राप्रपा पार्टी कार्यालय बसेको घर पनि ३५ दिनभित्र खाली गर्न अल्टिमेटम

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर डा. धवल शमशेर राणा तथा दुर्गा प्रसाईंसँगै मिलेर नयाँ पार्टी बनाउन लागेका दिलविकास राजभण्डारीले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि आरोपको वर्षा नै लगाएका छन् । राप्रपाको पूर्वउपाध्यक्षसमेत रहेका राजभण्डारीले पार्टी कार्यालय रहेको आफ्नो घर खाली गर्न अध्यक्ष राजेन्द्र लिङदेनलाई ३५ दिने अल्टिमेटमसमेत दिएका छन् । 

अध्यक्ष लिङ्देनका नाममा एक खुलापत्र लेख्दै राजभण्डारीले लिङ्देनले कार्यकर्ताको भरोसामाथि घात गरेको, पार्टीमा गुटबन्दी सिर्जना गरेको र आर्थिक अपारदर्शिता देखाएको आरोप मात्रै लगाएका छैनन्, लिङ्देनको पछिल्लो समयको जीवनशैली र सम्पत्तिमाथि पनि कडा प्रश्न तेर्स्याएका छन् ।

पत्रमा उनले लेखेका छन्, ‘पहाडमा ढिँडो खान नपुग्ने तपाईंको जीवनमा यति छिट्टै राजधानीमा आलिसान भवन कसरी खडा भयो ? इलाममा रिसोर्ट बनाउने आर्थिक स्रोत कहाँबाट जुट्यो ? अनि अमेरिकामा घर किन्ने पैसा कहाँबाट आयो ?’

लिङ्देनमाथि गाडी चोरीको आरोप, अर्काको जग्गा हडपेको र ज्यान सम्बन्धी मुद्दामा जेल सजायसमेत भोगेको जस्ता गम्भीर लाञ्छनासमेत लगाएका राजभण्डारीले निर्वाचनका बेला समानुपातिक सिट बेचेर मोटो रकम कुम्ल्याएको आरोपसमेत लगाएका छन् । 

राजभण्डारीले २०७९ सालको निर्वाचनका क्रममा लिङ्देन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आफूबाट लगेको ४५ लाख रुपैयाँमध्ये १० लाख मात्र फिर्ता गरेको र बाँकी ३५ लाख रुपैयाँ अहिलेसम्म आलटाल गरी नदिएको आरोपसमेत लगाएका छन् । उनले रकम ‘आमाको रगत खाए सरह’ भन्दै तुरुन्त फिर्ता गर्न माग गरेका छन् ।

पार्टीको हालैको निर्वाचनमा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुनुको मुख्य दोषी अध्यक्ष लिङ्देन नै रहेको राजभण्डारीको दाबी छ । आफूलाई खुसी पार्न उपाध्यक्ष पदमा मनोनीत गरिए पनि लिङ्देनप्रतिको विश्वास टुटिसकेकाले आफू निष्क्रिय बसेको उनले बताएका छन् ।

राजभण्डारीले लिङ्देनमा नैतिकता नरहेको भन्दै आफ्नो घर तुरुन्त खाली गर्न माग गरेका छन् । ‘तपाईंले राप्रपा डुबाउनुभयो, त्यसैले मेरो घरजग्गाबाट किन ननिकाल्ने ? मेरो घर तुरुन्त खाली गरिहाल्नुहोस्,’ पत्रमा भनिएको छ । यसका लागि ३५ दिने कानुनी सूचनासमेत दिइसकेको उनले जानकारी दिएका छन् । धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालय रहेको ‘शशीकला स्मृति भवन’ राजभण्डारीको निवास हो ।

यस्तो छ पत्र–

तपाईं राप्रपाको एजेन्डाप्रति इमानदार बन्नुहुनेछ, राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई उत्कर्षमा पु¥याउनुहुनेछ र समान विचार समन्वयको नीति लिनुहुनेछ भन्ने विश्वासका साथ राप्रपाका नेता तथा कार्यकर्ताहरूले कमल थापालाई पराजित गर्दै तपाईंलाई अध्यक्ष पदमा जिताएका हौँ ।

तर तपाईंले हामी सबै हजारौँ कार्यकर्ताको भरोसामाथि घात गर्नुभएको छ । वर्तमान समयमा तपाईंले पार्टीका इमानदार नेता तथा कार्यकर्ताहरूमाथि कारबाहीको अनैतिक दण्डा वर्षाइरहनुभयो । राप्रपाको इतिहासमै यो ज्यादै दुर्भाग्यपूर्ण घटना बन्न पुगेको छ । जसका कारण पार्टीमा गुट र फुटको अवस्था सिर्जना भएको छ । यसको सम्पूर्ण जिम्मेवारी तपाईंले लिनुपर्दछ ।

फलस्वरूप हालैको निर्वाचनमा राप्रपाले नराम्रो हार बेहोर्न मात्र परेन, ९७ प्रतिशत उम्मेदवारहरूको जमानत नै जफत हुन पुग्यो । समानुपातिकतर्फ तपाईंको आफ्नै मनपरी चल्यो । त्यसलाई सच्याउन माग गर्दा महिला नेता तथा कार्यकर्तामाथि तपाईंहरूको धक्कामुक्काबाट अस्पतालमा उपचार गराउनुपरेको घटना कसैबाट छिपेको छैन ।

तपाईंले मलाई खुसी राख्ने उद्देश्यले उपाध्यक्ष पदमा मनोनीत गर्नुभयो तर उपाध्यक्षमा मनोनीत भएपछि मैले गौरवको अनुभूति गर्न सकिनँ । बरु म सशङ्कित भएँ, किनकि त्यतिबेलासम्म तपाईंप्रतिको मेरो विश्वास टुटिसकेको थियो । परिणामस्वरूप उपाध्यक्ष पदमा रहँदा ममा न त अपेक्षित गौरवको भावना रह्यो, न त आवश्यक सक्रियता नै कायम रहन सक्यो। यो सबै लेख्नु मेरो सोख नभएर बाध्यता हो ।

तपाईंकै शब्द पैँचो लिँदा— पहाडमा पेटभरि ढिँडो खान नपुगेर अस्ति भर्खर मात्र मधेस झर्नुपरेको तपाईंको जीवनमा, यति छिट्टै राजधानीमा आलिसान भवन कसरी खडा भयो ? इलाममा रिसोर्ट बनाउने आर्थिक स्रोत कहाँबाट जुटाउनुभयो ? अनि अमेरिकामा घर किन्ने पैसा कहाँबाट आयो ?

यति मात्र होइन, तपाईंमाथि गाडी चोरीको आरोप पनि छ । अर्काको जग्गा हडपेर खाएको, ज्यानसम्बन्धी मुद्दामा जेल सजायसमेत भोगेको र तपाईंले समानुपातिक सिट बेचेर निकै मोटो रकम कुम्ल्याएको आरोप लाग्दासम्म पनि पार्टीको अध्यक्ष जस्तो  जिम्मेवार व्यक्तिले सुनेको नसुन्यै गरी स्वीकार गर्दा पार्टीभित्रका नेता तथा कार्यकर्ताहरूको शिर निहुरिनु स्वाभाविक हो । तपाईंको यही गलत क्रियाकलापका कारण पार्टीले यस्तो नराम्रो हार बेहोर्नुपरेको हो ।

पार्टी अगाडि बढोस् भनेर मैले ठूलो आर्थिक भार बेहोर्दै मेरो करोडौँको घरजग्गा सञ्चालन गर्न दिएको हुँ । यो मैले मेरो रगत–पसिनाको कमाइबाट बनाएको घर हो । यसमा बस्न लायक गुण र नैतिकता तपाईंमा रहेनछ ।

तपाईंले राप्रपा डुबाउनुभयो त्यसैले तपाईंलाई मेरो घरजग्गाबाट किन ननिकाल्ने ? भन्ने मेरो अन्तरआत्माको पुकारअनुसार तुरुन्त मेरो घर खाली गरिहाल्नुहोस् ।

साथै, २०७९ को निर्वाचनमा तपाईं र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले मबाट लगेको रकम ४५ लाखमध्ये १० लाख तपाईंको स्वकीय सचिव छत्र कठायतमार्फत फिर्ता गर्नुभयो । बाँकी रहेको ३५ लाख रुपैयाँ आलटाल नगरी तुरुन्त फिर्ता दिनुहोस्। के तपाईं र कोषाध्यक्ष मिलेर मेरो रकम पचाउन खोज्नुभएको हो ? यस्तो गर्नु आमाको रगत खाए सरह होइन र ?

तसर्थ धुम्बाराहीमा रहेको श्रीमती शशीकला स्मृति भवनस्थित राप्रपाको केन्द्रीय कार्यालय खाली गरिदिन अनुरोध गर्दछु । कानुनी रूपमा ३५ दिने सूचनाको म्याद प्रभा लुइँटेलको नामबाट दिइसकेको छ । केन्द्रीय समिति बैठकले न्यायोचित निर्णय गर्दै मेरो घर खाली गरिदिनेछ भन्ने विश्वास लिएको छु । अन्यथा भविष्यमा कुनै पनि अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवारी तपाईं स्वयमले लिनुपर्नेछ ।

– दिलविकास राजभण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?