काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले नेपाली चियाको निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारसँग तत्काल पहल गर्न माग गरेका छन् ।
भारतले गुणस्तर परीक्षणको नाममा चिया निर्यातमा अवरोध गरेपछि उनले तेस्रो मुलुकमा समेत बजार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राईले इलामका चिया उद्योगहरू बन्द हुँदा किसान, श्रमिक र उद्योगीहरू गम्भीर संकटमा परेको बताए। भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘एसओपी’ (स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर) का कारण इलामका ८३ भन्दा बढी चिया उद्योग बन्द भएको उनको भनाइ थियो ।
उनले चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकहरूको रोजगारी गुमेको तथा उद्योगीहरू बैंकको ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको बताए । यति संवेदनशील विषयमा सरकार गम्भीर बन्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
राईले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र ऊर्जामन्त्रीसँग पटक पटक यो विषय उठाए पनि हालसम्म समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको गुनासो गरे ।
उनले सरकारलाई भारतसँग सरकार-सरकार (जीटुजी) स्तरमा तत्काल संवाद गरी चिया निर्यात खुलाउन कूटनीतिक पहल गर्न, दीर्घकालीन समाधानका लागि चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न तथा तेस्रो देशमा निर्यातका लागि बजार सुनिश्चित गर्न आग्रह गरे ।
साथै, चियाको गुणस्तर मापनसम्बन्धी परीक्षण प्रयोगशालाको तत्काल व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया