डोजर आतंकले सुकुमबासीको संवैधानिक अधिकार हनन् गर्‍यो : अर्जुननरसिंह केसी

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुमबासीको पहिचान नगरी सरकारले बस्तीमा डोजर चलाएर त्रासको वातावरण सिर्जना गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको पछिल्लो कदमले सुकुमबासीहरूको संवैधानिक अधिकार हनन् भएको तथा उनीहरू असुरक्षित महसुस गर्न बाध्य भएको बताए ।

केसीले नदी किनार, वन क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारबाही गर्ने सरकारको प्रारम्भिक प्रयास साहसिक देखिए पनि अहिले त्यो दुस्साहसमा परिणत भएको टिप्पणी गरे । उनले वास्तविक सुकुमबासी र अतिक्रमणकारीबीच स्पष्ट भिन्नता छुट्याउन नसक्दा निर्दोष नागरिकहरू मारमा परेको बताए ।

उनका अनुसार सुकुमबासी बस्तीमा डोजर चलाइएपछि धेरै परिवार भोकभोकै बस्न बाध्य भएका छन् भने बालबालिकाहरू विद्यालय जानबाट समेत वञ्चित भएका छन् ।

सांसद केसीले विस्थापनका क्रममा भएका दुःखद घटनाहरूको विवरण प्रस्तुत गर्दै तनावका कारण इन्द्रबहादुर राईले बागमती नदीमा हाम फालेको, १७ वर्षीय रविन तामाङले आत्महत्या गरेको तथा शान्तिनगरमा रवि तामाङकी श्रीमतीको हृदयघातका कारण मृत्यु भएको बताए ।

साथै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा भोजराज दर्जीको मृत्यु भएको घटनाले अवस्था थप गम्भीर बनेको उनको भनाइ थियो ।

एम्नेस्टी इन्टरनेसनललगायत विभिन्न मानवअधिकारवादी संस्थाहरूले समेत सुकुम्बासी विस्थापनको विषयमा चासो व्यक्त गरेको उल्लेख गर्दै उनले मानवीय संवेदनशीलता अपनाएर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?