काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले डोजर अभियानका कारण विस्थापित भएका सुकुमबासीलाई पुरानै स्थानमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राईले डोजर चलाएर बेघरबार बनाइएका सुकुमबासीहरू हाल विभिन्न होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य भएको बताए । उनले कीर्तिपुरलगायतका होल्डिङ सेन्टरमा बसिरहेका नागरिकले खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै तत्काल राहत र पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
राईले सुकुमबासीहरूले आफूहरू बसोबास गर्दै आएको स्थानमै व्यवस्थित ‘सिटी प्लान’ बनाएर पुनर्वास गर्न आग्रह गरिरहेको उल्लेख गर्दै सरकारले सोही अनुसार योजना अघि बढाउनुपर्ने बताए । ‘उहाँहरू जहाँ हुनुहुन्थ्यो, त्यहीँ राम्रो सिटी प्लान बनाएर पुनर्वास गराएको भए सरकारकै प्रशंसा हुने थियो,‘उनले भने।
उनले प्रधानमन्त्री बालेन्द्र साहको सीमा सम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट नहटेसम्म आफ्नो दलको विरोध जारी रहने पनि स्पष्ट पारे । प्रधानमन्त्रीले संसदमा उपस्थित भएर उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष राईले चालु आर्थिक वर्षको बजेटमा सहर व्यवस्थापनका लागि छुट्याइएको रकम सुकुमबासीहरूको पुनर्वासमा प्रयोग गर्न सरकारलाई सुझाव दिँदै राहत वितरणसँगै दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया