काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र वाङ यी बीच बेइजिङ मा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा नेपाल र चीन बीचको सहकार्य अझ बढाउने विषयमा छलफल भएको हो ।
वार्तामा सडक, रेल तथा अन्य पूर्वाधार निर्माण, यातायात, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि, सूचना प्रविधि, डिजिटल सेवा, पर्यटन, रासायनिक मल तथा पेट्रोलियम र प्राकृतिक ग्यासको खोज तथा अध्ययनजस्ता विषयमा कुराकानी भएको बताइएको छ ।
नेपालले ‘एक चीन’ नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध कुनै गतिविधिका लागि प्रयोग हुन नदिने जनाएको छ । चीनले पनि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आर्थिक विकास र सुशासनका प्रयासमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
दुवै पक्षले यसअघि भएका सहमति र परियोजनालाई छिटो कार्यान्वयन गर्ने निर्णय गरेका छन् । साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विषयमा सहकार्य बढाउने सहमति पनि भएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका केही विज्ञान तथा प्रविधिसम्बन्धी संस्थाको पनि अवलोकन गरेका छन् । उनले नेपाल–चीनबीच विज्ञान र प्रविधिको क्षेत्रमा अझ नजिकको सहकार्य आवश्यक रहेको बताएका छन् ।
परराष्ट्रमन्त्री खनाल चारदिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ पुगेका हुन् । भ्रमण पूरा गरी उनी असार ३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया