विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : आईजीपी पौडेल

लोकपथ
175
Shares

पोखरा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपदमा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता राखेर सशस्त्र प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसको अवसरमा महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् र उनले विपद्को समयमा जनताको सेवा र सुरक्षामा खटिँदा सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य जरुरी रहेकोसमेत बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि साथै विपद् उद्धार सामाग्री उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकारको सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै गण्डकी प्रदेशका विभिन्न ठाउँमा सशस्त्र प्रहरी बल नेपालका युनिटहरू विस्तार, विपद् व्यवस्थापन बेस स्थापना र रेस्क्यु टावरमा खटिएका टोलीले गरेका कार्यहरू तथा उच्च भू–भाग तथा हिमाली क्षेत्रमा गरेका उद्धारहरू प्रशंसनीय रहेको बताए ।

सोही अवसरमा उनले नेपाल–भारत तथा नेपाल–चीन दुवै अन्तर्राष्ट्रिय सीमा नाकाहरू राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन तथा आर्थिक गतिविधिका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै भन्सार नाकाहरूको संवेदनशीलता, तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण तथा राजश्व चुहावट नियन्त्रणमा समेत थप सजगता र प्रभावकारी व्यवस्थापनका साथ परिचालन हुनसमेत जरुरी रहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठनको नेतृत्व सदैव राष्ट्रसेवक कर्मचारीहरूको हित, कल्याण र वृत्तिविकासमा संवेदनशील र चिन्तनशील रहने उल्लेख गर्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू संगठन विकासको साझा लक्ष्यतर्फ अग्रसर हुन आफ्नो कर्तव्यपथमा दृढ, अनुशासित र अविचलित भई कार्य गर्नसमेत निर्देशन दिए ।

उनले संगठनप्रतिको निष्ठा, अनुशासन र समर्पणले नै भविष्यका अवसरहरू सिर्जना गर्ने तथा वृत्तिविकासका ढोकाहरू पनि कर्म, क्षमता र योगदानको आधारमा खुल्दै जाने भएको हुँदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरू कार्यक्षेत्रमा खटिदा इमान्दारिता, अनुशासित र लगनशील भई लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बाहिनीलाई सहयोग पु¥याउने विभिन्न संघसंस्थाका प्रतिनिधि, सशस्त्र प्रहरी कर्मचारी, अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलाई पुरस्कार, कदरपत्र र प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?