सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद भरत गिरीले जुन १३ मा सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा हतियारसहितका भारतीय एसएसबी जवानहरू बिना अनुमति नेपाली भूमिमा प्रवेश गरेको दाबी गरे । उनले स्थानीय किसानहरूले प्रतिरोध गर्दै उनीहरूलाई फर्काएको बताए ।

सांसद गिरीले सीमावर्ती क्षेत्रमा राज्यको उपस्थिति कमजोर रहेको टिप्पणी गर्दै देशको सीमा रक्षामा स्थानीय नागरिकहरू नै अग्रपंक्तिमा उभिन बाध्य भएको बताए । उनका अनुसार सीमामा बसोबास गर्ने नागरिकहरूले बिना बर्दीका सिपाहीसरह भूमिका निर्वाह गरिरहेका छन् ।

उनले पूर्वको पशुपतिनगर देखि पश्चिमको महाकाली सम्म फैलिएको नेपाल–भारत खुला सीमामा बस्ने लाखौं नेपालीको सुरक्षाप्रति सरकारको धारणा स्पष्ट हुनुपर्ने माग गरे ।

सांसद गिरीले सुस्ता घटनालाई मात्र नभई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका सीमा विवादसँग जोडिएको राष्ट्रिय संवेदनशील विषयका रूपमा लिनुपर्ने बताए ।

उनले सीमामा यस्ता घटना दोहोरिन नदिन संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न, सीमा सम्बन्धी विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा आगामी नेपाल–भारत परराष्ट्रस्तरीय बैठकहरूमा यस विषयलाई प्रभावकारी रूपमा उठाउन सरकारसँग माग गरे ।

साथै, सुस्ताका स्थानीय किसानहरूले राष्ट्रिय स्वाभिमान र भूगोलको रक्षा गर्न देखाएको साहस प्रशंसनीय रहेको उल्लेख गर्दै उनले उनीहरूको योगदानको सम्मान हुने गरी कदम चाल्न सरकारलाई आग्रह गरे। सीमा सुरक्षाका विषयमा नेपाल सरकार र प्रधानमन्त्रीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?