काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ पुगेका छन् ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आइतबार अपराह्न चीन पुगेका हुन् । उनलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आइतबार साँझ स्वागत समारोह आयोजना गरेको छ । सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको दूतावासले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य विस्तार तथा पारस्परिक हितका विषयमा वार्ता गर्नेछन् । साथै उनले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन् । सम्मेलनका क्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया