काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीलाई अझ प्रभावकारी र जनतासँग नजिक बनाउन देशभरबाट सुझाव संकलन सुरु गरेको छ ।
पार्टीले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका विषयमा सुझाव लिन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको छ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार सुझाव संकलन अभियान आज बागमती प्रदेशबाट सुरु भएको हो । बागमती प्रदेश संगठन कमिटीको बैठकपछि सुझाव संकलनका लागि विशेष भेला आयोजना गरिएको छ ।
कार्यदल गठन गर्ने निर्णय गत जेठ १० गते बसेको एमाले सचिवालय बैठकले गरेको थियो । त्यसपछि जेठ २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो ।
कार्यतालिकाअनुसार कोशी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेस, राजधानी विशेष र सम्पर्क समन्वय विशेष प्रदेशमा क्रमशः सुझाव संकलन गरिनेछ ।
प्रदेशस्तरीय भेलामा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारी सहभागी हुनेछन् । साथै कार्यदलले जनसंगठन, केन्द्रीय विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग पनि सुझाव लिएर पार्टी सुधारका लागि आवश्यक योजना तयार गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया