नेपाललाई विश्वस्तरीय आरोग्य पर्यटन गन्तव्य बनाइन्छ : मन्त्री पौडेल

लोकपथ
35
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्ड र स्पा संघ नेपालको आयोजनामा विश्व आरोग्य दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।

उनले आरोग्य पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीति तथा रणनीति निर्माणको प्रक्रिया अघि बढिसकेको बताउँदै होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत आरोग्य पर्यटनसम्बन्धी अध्ययनलाई स्नातक र स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी रहेको बताए ।

मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँका हिमाल, नदी, वनजङ्गल तथा प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने उल्लेख गरे । उनले योग, ध्यान, प्राकृतिक उपचार तथा आरोग्य जीवनशैलीका क्षेत्रमा नेपालसँग अपार सम्भावना रहेको भन्दै त्यसको व्यवस्थित विकासमा सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा स्पा संघ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेको उल्लेख गर्दै स्पा सेवालाई केवल विश्राम वा मनोरञ्जनको माध्यमका रूपमा नभई रोगको रोकथाम र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने महत्वपूर्ण साधनका रूपमा बुझ्नुपर्ने बताए ।

उनले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तरराष्ट्रियस्तरको सेवा प्रणाली, व्यावसायिक तालिम तथा प्रमाणीकरण प्रणाली आवश्यक रहेको धारणा राखे ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको उल्लेख गर्दै स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

स्पा संघ नेपालका सचिव रामदेव महतोले आधुनिक समाजमा स्पा सेवा शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्य प्रवर्द्धन गर्ने प्रभावकारी माध्यम बनेको बताए । बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट राहत दिलाउन स्पा सेवाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।

अन्तरराष्ट्रिय आरोग्यविज्ञ डोनाल्ड चाले नेपाल आफैंमा आरोग्यको प्रतीक रहेको भन्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई पर्यटन उद्योगसँग जोडेर आर्थिक मूल्य सिर्जना गर्नुपर्ने बताए ।

स्पा संघ नेपालका महासचिव अमृत थोकरले योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार तथा स्पा सेवाको समन्वयमार्फत नेपाललाई विश्वस्तरीय आरोग्य पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले स्वस्थ जीवनशैली प्रवर्द्धनमा स्पा सेवाको महत्व दिनप्रतिदिन बढ्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?