बाजुरा-हुम्ला सीमा विवाद क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ, अस्थायी सुरक्षा बेस स्थापना गरिने

लोकपथ
91
Shares

काठमाडौं । बाजुरा र हुम्ला जिल्लाबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद चर्किएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । गत जेठ २७ गते लाम्पाटातर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो ।

सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन उक्त स्थानमा अब अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी गरिएको छ । सो बेसमार्फत खटिने टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्रत्यक्ष निर्देशन दिइनेछ भने आवश्यक समन्वय पनि केन्द्रबाटै हुने व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल का अनुसार निरीक्षकको कमान्डमा खटिएको टोलीलाई सो क्षेत्रमा परिचालन गरिएको हो । पछिल्ला केही दिनयता सो सीमावर्ती क्षेत्रमा विवाद चर्किँदै गएको थियो ।

शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ‘केन्द्रीय सुरक्षा बेस’ स्थापना गर्ने निर्णय गरेको थियो ।

सीमा विवाद समाधान र स्थानीय सुरक्षा सुनिश्चित गर्न दुवै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गरिने जनाइएको छ ।

बाजुरा जिल्ला र हुम्ला जिल्ला बीचको यो विवादित क्षेत्र लाम्पाटा आसपास केन्द्रित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?