काठमाडौं । नेकपा एमालेका सांसद पुष्पराज कँडेल ले विगतका सरकारका कमजोरी देखाएर वर्तमान सरकारले आफ्ना त्रुटिको बचाउ गर्न नमिल्ने बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बारम्बार अघिल्ला सरकार र पूर्वअर्थमन्त्रीहरूलाई दोष दिने प्रवृत्ति उचित नभएको टिप्पणी गरे ।
कँडेलले सुशासन, पारदर्शिता र सुधारको एजेन्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने बताए । उनका अनुसार अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ, तर विगतमा त्रुटि भएको थियो भन्दैमा अहिले पनि त्यही गल्ती गर्ने छुट कसैलाई नहुने स्पष्ट पारे ।
उनले अर्थमन्त्री वाग्ले स्वयं पनि विगतमा राष्ट्रिय योजना आयोगलगायत नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेकाले अघिल्ला निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने बताए ।
बैठकमा कँडेलले भने, ‘यदि अघिल्ला सरकारले ७३ ठाउँमा करका दर परिवर्तन गरे वा हस्तक्षेप गरे भन्ने हो भने त्यो रेकर्डमा छँदैछ । तर नयाँ सरकार सुधारको एजेन्डा लिएर आएको हो भने विगतका कमजोरी दोहोर्याउनु हुँदैन । अहिले देखिएको त्रुटि किन भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।
उनले अर्थमन्त्रीको नियतप्रति आफूहरूको शंका नरहेको उल्लेख गर्दै सबै समस्या भ्रष्टाचारकै कारणले भएको निष्कर्ष निकाल्नु पनि उचित नहुने धारणा राखे । “राजनीतिमा आउने अधिकांश मानिस सेवा गर्ने उद्देश्यले नै आउँछन् । सबैलाई एउटै तराजुमा राखेर मूल्यांकन गर्नु उचित हुँदैन,” उनले भने ।
कँडेलले बैठकमा मूल्य अभिवृद्धि कर ९भ्याट० प्रणालीबारे पनि प्रश्न उठाए । नेपालको कर प्रशासनले विगतदेखि बहुदर वा दुई–दर भ्याट प्रणालीलाई स्वीकार नगरेको स्मरण गराउँदै अहिले बहुदर भ्याट प्रणालीतर्फ जाने विषयमा पर्याप्त अध्ययन, बहस र तयारी भएको हो वा होइन भन्ने प्रश्न गरे ।
उनले १३ प्रतिशतको एकल भ्याट दरका विकल्पका रूपमा केही वस्तु तथा सेवामा न्यून दर लागू गर्ने तथा विलासिताका वस्तुमा फरक दर निर्धारण गर्ने विषयमा विगतदेखि बहस हुँदै आएको भए पनि त्यससम्बन्धी नीतिगत परिवर्तन गर्दा स्पष्ट आधार र औचित्य प्रस्तुत गर्नुपर्ने बताए ।
कँडेलले कर नीतिमा स्थायित्व, पूर्वानुमानयोग्यता र स्पष्टता कायम गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउँदै कुनै पनि कर सुधार व्यापक अध्ययन र सरोकारवालासँगको परामर्शपछि मात्र कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।
उक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेटमा प्राविधिक त्रुटि देखिएकाले सच्याउनुपरेको र विपक्षीले त्यसलाई ठूलो मुद्दा बनाएको भन्दै असन्तुष्टि जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया