फ्लाई दुबईले पोखराबाट दैनिक उडान भर्ने, अन्तर्राष्ट्रिय पहुँच विस्तार हुने

लोकपथ
77
Shares


पोखरा । प्रतिष्ठित हवाई सेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने भएको छ । गएको मंगलबार मात्र संयुक्त अरब इमिरेट्स (यूएई)को ‘फ्लाई दुबई’को जोखिम व्यवस्थापन हेर्ने उपाध्यक्ष एड्रियन लुकाससहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण गरेको थियो ।

त्यसलगत्तै आउँदो असोज ७ (सेप्टेम्बर २३) बाट उडान भर्नको लागि कम्पनी तयार भएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । उनले सामाजिक सञ्जालमा खुसीका साथ नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको लेखेका छन् ।

उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाई दुबईले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान सञ्चालनका लागि अनुमति पाएको खबरबारे उनले लेखेका छन् ।

‘यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र होइन, यो पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौंकेन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर पनि हो । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरहरूसँग पोखराको पहुँच पुग्नेछ,’मेयर आचार्यले भने ।

नियमित उडानका लागि लामो प्रयासपछि अहिलेको अवस्थामा आइपुगेको उनले बताए । उनले यो उडानलाई दिगो बनाउन सबैले साथ दिन अनुरोध गरेका छन् ।

‘अब यो अवसरलाई दिगो सफलतामा रूपान्तरण गर्ने जिम्मेवारी हामी सबैको हो । विशेष आग्रहका साथ सम्पूर्ण पर्यटन व्यवसायी साथीहरू, पोख्रेली दिदीबहिनी तथा दाजुभाइहरू, स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूलाई पोखरा दुबई रुटबाट यात्रा गरी प्रारम्भिक एक महिनाको यो चुनौतीलाई सफल बनाउन, साथ दिन अनुरोध गर्दछु,’उनले भने ।

अघिल्लो साता कम्पनीका प्रतिनिधिले पोखराबाट दुबईसम्म दैनिक उडानका सम्भाव्यताबारे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा विमानस्थलको प्राविधिक टोलीसँग ६ घण्टा लामो गहन छलफल गरेको थियो ।

विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षहरूबारे जानकारी लिएर टोली फर्किएको थियो । त्यतिबेला लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि प्राविधिक र सुरक्षाका सबै हिसाबले ‘पूर्णरूपमा सही र तयार’ रहेको बताउँदै छिटोभन्दा छिटो उडान भर्ने प्रतिबद्धता जनाएका थिए ।

यता, सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम र बजेटमा नियमित उडानको लागि निजी क्षेत्रसँग सहकार्य गरिने उल्लेख छ ।

पोखराबाट भारतका सहरहरूमा क्षेत्रीय उडान भर्ने नेपाली वायुसेवा कम्पनीले पहल नगरेका पनि होइनन् । काठमाडौं एयरपोर्टबाट बनारस उडान भरिरहेको बुद्ध एयरले पोखराबाट त्यस्तै उडानको लागि गरेको प्रयत्नमा भारतको नागरिक विमान महानिर्देशनालय (डीजीसीए)ले अनुमति दिएको थिएन ।

प्रयास सार्थक नभएपछि उक्त चर्चा चलायो । पोखराबाट हालसम्म केही चार्टर्ड उडानबाहेक अन्तर्राष्ट्रिय नियमित उडान भएका छैनन् । सिचुवान एयरलायन्सले पोखरा–सिचुवान, भुटानको ड्रागन एयरको पारोसम्मको चार्टड उडान, यही जेठ ६ गते श्री एयरलायन्सले पोखराबाट गरेको मेडिकल रेस्क्यू उडानलाई नै अन्तर्राष्ट्रिय उडान मान्नुपर्ने अवस्था छ ।

पोखराको चरक अस्पतालमा रहेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई लिएर जाने क्रममा श्रीएयरले मध्यप्रदेशको राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्यस्तै, बेलायती धनाढ्य निजी जेटमा पोखरा आएका थिए ।

यो विमानस्थलबाट न्यारोबडी जेट विमानले पाँचदेखि ६ घण्टासम्मको दुरीको उडान भर्न सक्छन् । भारतको दिल्ली, कलकत्ता, बनारस, मुम्बई, चीनको छेङ्दु, खुनमिङ, ग्वाङ्झाओ, ल्हासा, सांघाई, थाइल्यान्डको बैंकक कोरियाको सोल, कतारको दोहा, सिंगापुर, भुटानको पारो, श्रीलंका लगायतका ठाउँमा यहाँबाट उडान भर्न सकिन्छ । तर, निर्माण सम्पन्न भएको लामो समयसम्म पनि पोखराबाट अन्तर्राष्ट्रिय नियमित उडान सम्भव भएको छैन ।

वायुसेवा कम्पनीहरूको लागि भनेर विमानस्थलले उडान भर्ने र यहाँ ‘होल्ड’ हुने विमानका लागि शुल्कमा भारी छुट छ । इन्धन मूल्य पनि सस्तो गरिएको छ तर नियमित उडानले भने सार्थकता हालसम्म पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?