बजेट महत्वकांक्षी छ, सरकारले चाहे कार्यान्वयन हुनसक्छ : डा. प्रकाशशरण महत

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले प्रस्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटलाई महत्वाकांक्षी भए पनि कार्यान्वयन गर्न सकिने बताएका छन् ।

नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै महतले राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको आकारभन्दा करिब डेढ खर्ब रुपैयाँ बढी विनियोजन गरिएको उल्लेख गरे । उनले ठूलो आकारको बजेट भए पनि सरकारसँग राम्रो जनादेश भएकाले कार्यान्वयन प्रभावकारी बनाउन सकिने धारणा राखे ।

महतका अनुसार पछिल्लो समय आन्तरिक ऋणमा निर्भरता बढ्दै गएको छ भने बैंकिङ क्षेत्रमा तरलता पर्याप्त रहेकाले तत्काल स्रोत व्यवस्थापनमा समस्या नदेखिएको छ । यद्यपि साधारण तथा पुँजीगत खर्च दुवैका लागि आन्तरिक ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने उनले चेतावनी दिए ।

उनले आगामी आर्थिक वर्षका लागि तय गरिएको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निजी क्षेत्रको सक्रिय परिचालन र प्रभावकारी पुँजीगत खर्चमार्फत हासिल गर्न सकिने बताए । बजेटका नीतिगत व्यवस्थाले निजी क्षेत्रलाई लगानी विस्तारमा प्रोत्साहन गर्ने उनको भनाइ थियो ।

महतले हाल मुद्रास्फीति नियन्त्रणको दायरामा रहेकाले मूल्यवृद्धिको लक्ष्य हासिल हुने सम्भावना रहेको उल्लेख गरे । उनका अनुसार समग्र आर्थिक सूचकहरूले बजेटलाई विगतका नीतिको निरन्तरताका रूपमा देखाएको छ ।

उनले बजेटले ठूलो नीतिगत परिवर्तनभन्दा पनि निरन्तरता, लगानी विस्तार, उत्पादन र रोजगारी वृद्धिमा जोड दिएको भन्दै मध्यम तथा निम्न आय वर्गलाई केही राहत दिने प्रयास गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?