काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सीमा विवादका सम्बन्धमा विगतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दाबी गर्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका हुन् ।
संसद्मा जारी गतिरोध अन्त्यका लागि जिम्मेवार भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सांसद राईद्वारा प्रश्तुत प्रश्तावमा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भनी दिएको अभिव्यक्तिलाई राष्ट्रघातीको संज्ञा दिइएको छ । उक्त अभिव्यक्तिलाई तत्काल संसदको रेकर्डबाट हटाई प्रधानमन्त्रीको लिखित वक्तव्य समेत समावेश गरिनुपर्ने उनको माग छ ।
अध्यक्ष राईले भने, ‘हामी धेरै औपचारिक भयौँ, तर समस्याको गाँठो फुक्न सकेन । प्रधानमन्त्रीलाई पटक–पटक सदनमा बोलाउँदा पनि आउन मान्नुहुन्न, आए पनि चित्तबुझ्दो जवाफ नदिँदा समस्या झन् जटिल बनेको छ । राष्ट्रियताको सवालमा सत्ता पक्ष वा प्रतिपक्ष नभनी दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै एकतावद्ध हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो प्रस्ताव आवश्यक छ ।’
संकल्प प्रस्तावमा आगामी दिनमा प्रधानमन्त्री, मन्त्री वा सांसद जोसुकैले पनि राष्ट्रिय सार्वभौमिकता र अखण्डताको सवालमा यस्ता तथ्यहीन र राष्ट्रहित विपरीतका अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।
जनताका प्रतिनिधिहरू संसद्मा केवल विवाद गरेर मात्र बस्न नहुने र जनउत्तरदायी बन्नुपर्ने धारणा राख्दै सांसद राईले यो संकल्प प्रस्ताव पारित गरी संसदीय गतिरोध अन्त्य गर्न सभामुखमार्फत सदनको ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया