खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला क्षेत्रमा बाढीले सडक बगाएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
शुक्रबार साँझ परेको भारी वर्षापछि आएको बाढीले सडक कटान गरी करिब २५-३० मिटर भाग क्षति पुर्याएपछि भोजपुर–काठमाडौं र भोजपुरतर्फ आवतजावत गर्ने बस, सुमो र मोटरसाइकलहरू बीचमै रोकिएका छन् ।
नगर उपप्रमुख विशन राईका अनुसार डोजर र स्काभेटरसहित जनशक्ति परिचालन गरी सडक खुलाउने काम भइरहेको छ । उनले केही समय लाग्ने भएकाले यात्रुहरूलाई धैर्य गर्न आग्रह गरेका छन् ।
त्यस्तै, वडा नं. ९ का वडाध्यक्ष दिनेश कठायतले माथिबाट आएको लेदोसहितको बाढीले सडक ठूलो मात्रामा क्षति पुर्याएको र तत्काल अस्थायी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा प्रहरी टोली सडक खुलाउने कार्यमा खटिएको छ ।
यसअघि पङ्खुखोलामा मोटरेबल पक्की पुल निर्माण थालिएको भए पनि लामो समयदेखि अधुरो रहेको थियो । विकल्पका रूपमा श्रमदाताले निर्माण गरेको काठे पुल पनि बाढीले बगाएपछि पैदल यात्रुहरू समेत प्रभावित भएका छन् ।
श्रम संस्कृति पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार स्थानीय श्रमदाताले निर्माण गरेको काठे पुल बग्दा दीर्घकालीन समाधानको आवश्यकता झनै स्पष्ट भएको छ ।
यसैबीच, मध्यपहाडी लोकमार्गकै साप्सुखोलामा आएको बाढीले निर्माण कार्यमा प्रयोग हुँदै आएको ‘ब्रेकर’ समेत बगाएको छ ।
लगातारको वर्षापछि खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । खोटाङ यातायात प्रालिका अनुसार जिल्लामा हरेक वर्ष जेठदेखि कात्तिकसम्म यस्ता समस्या दोहोरिने गरेका छन्, जसले नियमित यातायात सञ्चालनमा चुनौती थपेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया