काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गोली कसले चलाएको हो भन्ने कुरा यकिन गर्न नसकिएको जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक तथा आयोग सदस्य डा। लिली थापाले गोलीको स्रोत र प्रहारकर्ता दुवै पहिचान गर्न नसकिएको स्पष्ट पारिन् ।
उनका अनुसार आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग भएको पुष्टि भए पनि ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा गोलीको प्राविधिक विवरण मात्रै पत्ता लाग्न सकेको छ, तर कसले चलायो भन्ने निष्कर्षमा पुग्न नसकिएको हो ।
आयोगले आफ्ना फरेन्सिक विशेषज्ञ डा। हरिहर वस्तीमार्फत गरिएको विश्लेषणमा अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा लागेको देखिएको जनाएको छ । तर ती गोली कुन निकाय वा व्यक्तिबाट प्रहार भयो भन्ने कुरा स्पष्ट हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
डा.थापाले भनिन्, ‘कुन गोली कहाँबाट आयो, एसटीएफबाट आयो कि बाहिरबाट आयो भन्ने कुरा यकिन गर्न सकेका छैनौँ। तर गोली भित्रबाट हानिएको थियो भन्ने निष्कर्षमा पुगेका छौँ ।’
आयोगका अनुसार विशेष कार्यदल (एसटीएफ) अग्रपङ्क्तिमा तैनाथ रहेको र संसद भवन क्षेत्रबाट गोली चलेको संकेत देखिए पनि प्रत्यक्ष प्रहारकर्ताको पहिचान हुन सकेको छैन ।
प्रतिवेदनले २३ देखि २५ भदौसम्मका घटनाहरू समेत अध्ययन गरिएको र धादिङ, बाँके तथा नौबस्ता कारागार र बाल सुधार गृहबाट भाग्ने क्रममा भएका घटनाहरू पनि समेटिएको जनाएको छ ।
आयोगले सुरक्षा निकायबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । साथै, अन्तर्राष्ट्रिय सुरक्षा मान्यताअनुसार कुनै पनि विशेष परिस्थितिमा बल प्रयोग गर्दा घुँडामुनि लक्षित गरेर नियन्त्रण गर्ने सिद्धान्त पालना नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस प्रकरणले जेनजी आन्दोलनका क्रममा राज्य संयन्त्रको बल प्रयोगबारे थप प्रश्न उठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया