सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारबाही अगाडि बढाइने

लोकपथ
364
Shares

काठमाडौं । सरकार सम्पर्कविहीन तथा अभिलेख अद्यावधिक नगरेका निजामती कर्मचारीको खोजीमा जुटेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही कर्मचारी बिदा अवधि सकिएपछि पनि कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि सम्पर्कविहीन रहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नभएको भन्दै सूचना जारी गरेको हो ।

मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गराउनुपर्नेछ ।

त्यस्तै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए–नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले अध्ययन तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्न उक्त सूचना जारी गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?