काठमाडौं । विपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज आफैले हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भिर भुल गरेको आरोप लगाएको छ ।
बुधबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाए ।
उनले वर्तमान सरकारले एक पछि अर्को विधि मिचिरहेको जिकिर गर्दै संसदमा पेश भइसकेको उक्त विधेयक सरकारलाई फिर्ता पठाउने वा नपठाने भन्ने कुराको निर्णय संसदमा मात्रै गर्नसक्ने सांसद मल्लको भनाई थियो ।
‘दुःखद् कुरा के भयो भने माननीय अर्थमन्त्रीज्यूले जुन बजेट पेश गर्नुभयो । र बजेटको एउटा अंगको रुपमा नेपालको सरकारको जुन अर्थ सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक छ । त्यो विधेयक भनेको मुख्यगरी करको दरहरु हेरफेर गर्ने नै हो त्यो । त्यो विधेयक अर्थमन्त्री संसदमा पेश गरिसकेपछि फेरि अर्थ मन्त्रालयले त्यसलाई संशोधन गरेर अपलोड गर्यो । जबकी संसदको पूँजी भइसकेपछि, कुनैपनि विधेयक संसदमा दर्ता भईसकेपछि संसदमा पेश भईसकेपछि संसदको पूँजी भईसकेपछि त्यो के गर्ने हो, संसदले नै गर्ने हो । कि संसदले फिर्ता पठाउँछ र उहाँहरुले संशोधन गर्न पाउनुहुन्छ कि संसदमा सत्तारुढ दलका साथीहरुले पनि संशोधन हालेर त्यसलाई सच्याउन सक्नुहुन्छ । प्रतिपक्षले पनि संशोधन हाल्न सक्छ । त्यो व्यवस्था हुँदाहुँदै सरकारले आफैले फेरी संसदमा पठाईसकेको विललाई उहाँहरु आफैले सच्याएर अपलोड गरिएको छ । यो विधि शाष्त्रको हिसावले पनि सरकारको ठूलो मिस्टेक छ । सरकारले एक पछि अर्को विधि किन मिचिरहेको छ ? आज हाम्रो यो प्रश्न हो ।’
अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते नै उक्त विधेयकमा संसदमा पेश गरेका थिए । संसदमा पेश भईसकेको कुनैपनि विधेयक संसद बाहेक अरु कुनैपनि निकायले फेरबदल गर्न नपाउने व्यवस्था रहेको पनि सांसद मल्लले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया