एमालेको सदस्यता नवीकरण तथा विस्तार कार्यशाला, दुई कार्यपत्र प्रस्तुत हुने

लोकपथ
56
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले आजदेखि ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला सुरु गर्दैछ ।

कार्यशाला काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ । कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

कार्यशालामा पार्टी सदस्यता विस्तार, सदस्यता नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा आगामी योजनाबारे छलफल गरिने जनाइएको छ । एमालेले यस कार्यक्रमलाई संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण कडीका रूपमा लिएको छ ।

कार्यक्रममा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी संगठनको समग्र अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै, सदस्यता नवीकरणको प्राविधिक पक्षबारे केन्द्रीय सदस्य माधव ढुंगेलले अर्को कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।

सहभागीलाई विभिन्न समूहमा विभाजन गरेर छलफल तथा प्रस्तुतीकरण पनि गराइनेछ । कार्यशालाको समापन भोलि महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?