मुलुक फेरि एकात्मक राज्य प्रणालीमा फर्किने चर्चा छ : महामन्त्री पौडेल

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधानमार्फत प्राप्त उपलब्धिहरूको रक्षा गर्दै त्यसको संस्थागत विकासका लागि पार्टीलाई थप सुदृढ र संगठित बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

मुलुक पुनः एकात्मक राज्य प्रणालीतर्फ फर्कने र संसदीय व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले संविधान कार्यान्वयनमा सबै राजनीतिक शक्तिहरूबीच ऐक्यबद्धता आवश्यक रहेको बताएका हुन् ।

महामन्त्री पौडेलले वर्तमान संविधानले सुनिश्चित गरेका समावेशिता, लोकतन्त्र र अधिकारसम्बन्धी उपलब्धिहरू कमजोर पारिए मुलुक फेरि पछाडि फर्कने जोखिम रहने चेतावनी दिए ।

उनले विगतमा आफ्नै नेतृत्वबाट पनि संविधानको मर्मअनुसार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै अहिले संविधानको मूल आशय नै समाप्त पार्ने खालका गतिविधि देखिएको दाबी गरे ।

नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र मौलिकता संरक्षण गर्न पार्टी अझ सशक्त हुनुपर्ने धारणा राखे । उनले सबै समुदायलाई समेटेर कांग्रेसलाई संगठनात्मक रूपमा बलियो बनाउनुपर्नेमा जोड दिए ।

यस सन्दर्भमा उनले भने, ‘संविधानमा प्राप्त भएका उपलब्धिहरूलाई संस्थागत गरेर सुरक्षित गरेर जानुपर्ने स्थिति छ । मुलुक फेरि एकात्मक प्रणालीतर्फ फर्किने गरी चर्चा परिचर्चा भइरहेका छन् । संसदीय व्यवस्थालाई कमजोर बनाउने गरी काम भइरहेका छन् । त्यसैले यी उपलब्धिहरूलाई कार्यान्वयनमा लैजानु आजको आवश्यकता हो।’

उनले थप भने, ‘यदि यी उपलब्धिहरू समाप्त भए भने राज्य फेरि एकात्मक प्रणालीतर्फ फर्कन सक्छ। संविधानको आसयअनुसार होइन, संविधान नै समाप्त हुने गरी काम भइरहेको छ। त्यसैले संगठित हुनु आवश्यक छ ।’

उनका अनुसार लोकतन्त्र, समावेशिता र सबै समुदायको अस्तित्व स्वीकार गर्ने राजनीतिक शक्तिका रूपमा कांग्रेसलाई अझ बलियो बनाउनु अहिलेको प्रमुख आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?