काठमाडौं । नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले थारु समुदायलाई राजनीतिक दलहरूले केवल ‘भोट बैंक’ को रूपमा मात्र प्रयोग गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सानेपामा आयोजित नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रममा बोल्दै नेता चौधरीले थारु समुदायको मुद्दा र प्रतिनिधित्वको सवालमा कांग्रेस गम्भीर नभएको आरोप लगाएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता चौधरीले देशमा सातवटा प्रदेश रहँदा पनि थारुहरूको बाहुल्यता रहेका क्षेत्रमा समेत उचित प्रतिनिधित्व नगराइएकोमा आपत्ति जनाए ।
मधेस प्रदेशमा जनसङ्ख्या कम भएपनि थारुहरूले लडेर मन्त्री पद लिएको उदाहरण दिँदै उहाँले अन्य प्रदेशमा पार्टीले थारु समुदायलाई उपेक्षा गरेको बताए ।
संविधान कार्यान्वयनको सन्दर्भमा बोल्दै नेता चौधरीले २०७२ सालमा संविधान घोषणा भएको लामो समय बितिसक्दा पनि निजामती सेवा ऐनमा थारु समुदायका लागि आरक्षणको व्यवस्था सुनिश्चित हुन नसकेको उल्लेख गरे ।
थारुहरूले आफ्ना हकका लागि पटक पटक कानुनी र राजनीतिक लडाइँ लड्नुपरेको तर पार्टीका अन्य नेताहरूले यसमा साथ नदिएको उनको गुनासो छ ।
उनले भने,‘सुदूरपश्चिममा थारुहरूको ठूलो जनसङ्ख्या छ, तर त्यहाँ मन्त्री बनाइएको छैन । लुम्बिनी र कोशी प्रदेशमा हाम्रो सरकार हुँदा पनि थारु समुदायबाट किन मन्त्री बनाइएन ? तपाईँहरू समावेशिताको कुरा गर्नुहुन्छ, तर व्यवहारमा कहाँ छ समावेशिता ? के थारुका मुद्दामा थारु मात्र बोल्ने हो ? पार्टीले यसको जिम्मेवारी लिनु पर्दैन ?’
नेता चौधरीले टीकापुर घटनासम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे । उनले संसदीय दलका नेता र पार्टी नेतृत्वलाई उक्त प्रतिवेदन प्रकाशनका लागि सदन र सरकारमा आवाज उठाउन आग्रह गरे ।
थारु समुदायको वास्तविक समर्थन चाहने हो भने उनीहरूमाथि न्याय हुनुपर्ने र आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया