महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यवहारमै कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

उनले राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति संविधानले गरेको बताएका छन् ।

प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा अन्त्य गर्न कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए ।

उनले लैङ्गिक, घरेलु तथा डिजिटल हिंसाको अन्त्यका लागि राज्य, समुदाय र सरोकारवाला पक्षबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

उनले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्ने उल्लेख गर्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

यसै अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि महिला अधिकारको संरक्षण, लैङ्गिक समानता र सामाजिक रूपान्तरणका लागि राज्य, समुदाय तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएकी छन् ।

उनले संविधानले सुनिश्चित गरेका महिला अधिकारलाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै महिला अधिकार केवल कानुनी व्यवस्था वा नीतिगत घोषणामा सीमित नभई सामाजिक व्यवहार, अवसरको समान पहुँच र सम्मानजनक सहभागितासँग जोडिएको विषय भएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?