कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति आवश्यक : राष्ट्रपति पौडेल

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देशलाई समृद्धितर्फ अग्रसर बनाउन कृषि क्षेत्रका समस्या र चुनौतीहरूको पहिचान अनिवार्य रहेको बताए ।

उनले कृषि क्षेत्रमा लगानीको सुनिश्चितता गर्नुपर्ने, सस्तो ब्याजदरमा कृषि कर्जाको व्यवस्था गर्नुपर्ने तथा कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलका अनुसार उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने र निर्यात बढाउने दिशामा सरकार, नीति निर्माता र सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याउन आवश्यक छ ।

‘कृषि क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ। कृषि व्यवसायलाई प्राथमिकतामा राख्दै युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्छ, ‘उनले भने ।

उनले विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूको सीप उपयोग हुने गरी कृषिमा आकर्षित गर्न लगानीमैत्री वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

साथै, समयमा बीउविजन र मलको आपूर्ति, कृषक उपजको बजारीकरण, आधुनिक औजारको उपलब्धता तथा कृषि बीमाको विस्तारलाई तत्काल समाधान गर्नुपर्ने विषयका रूपमा उनले औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?