काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेका ६०२ नेपाली नागरिकको जरिबाना शुल्क मिनाहा गरेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधपछि कम्बोडियाले यो निर्णय गरेको हो ।
यस निर्णयपछि स्वदेश फर्किन बाँकी रहेका नेपालीलाई नेपाल पठाउने प्रक्रिया सहज भएको छ । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीका अनुसार सबैलाई नेपाल फर्कनका लागि ‘ट्राभल डकुमेन्ट’ पनि उपलब्ध गराइसकिएको छ ।
उनका अनुसार हाल ३०२ जना नेपाली अझै फर्किन बाँकी छन् । तीमध्ये २५० जना छिट्टै नेपाल फर्कने तयारीमा छन् भने ५२ जना भने अझै कम्बोडियामै बसेका छन् । उनीहरूलाई एक हप्ताभित्र फर्कन दूतावासले आग्रह गरेको छ ।
यदि तोकिएको समयभित्र नफर्किएमा कम्बोडियाको नयाँ कानुनअनुसार पक्राउ, जरिबाना र कैद सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ ।
कम्बोडियामा भिसा अवधि सकिएपछि बस्ने विदेशीलाई प्रतिदिन १० अमेरिकी डलर जरिबाना लाग्थ्यो । पछिल्ला महिनामा मात्र करिब आठ करोड रुपैयाँ बराबरको जरिबाना मिनाहा गरिएको बताइएको छ ।
कम्बोडिया सरकारले हाल अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रमा काम गर्ने वा भिसा म्याद सकिएर बस्ने विदेशीलाई कडा कानुन लागू गरेको छ । नयाँ कानुनअनुसार ठूलो जरिबाना र आजीवन कैदसम्मको सजाय हुन सक्छ ।
बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका सबै नेपालीलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको छ ।
दूतावासका अनुसार मानव तस्करले विभिन्न प्रलोभन देखाएर नेपालीलाई कम्बोडिया पुर्याई अवैध काममा लगाउने गरेको पाइएपछि पछिल्ला दुई वर्षदेखि उद्धार र फिर्ती प्रक्रिया चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया